ओमानमा २१ हजार नेपाली श्रमिक

ओमानमा २१ हजार नेपाली श्रमिक

काठमाडौं। नेपालको परराष्ट्र मन्त्रालय र ओमानको सल्तनतबीच द्विपक्षीय परामर्श पहिलो बैठक सम्पन्न भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्साल र ओमानी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिलाका उपसचिव शेख खलिफा बिन अली बिन इसा अलहार्थीले गरेका हुन् ।

ओमानको मस्कटमा सम्पन्न छलफलमा प्रतिनिधिमण्डलका नेताले द्विपक्षीय सम्बन्धको समग्र आयाम समीक्षासहित सन् १९७७ देखि नेपाल र ओमानबीचको उत्कृष्ट सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूबीच द्विपक्षीय सम्बन्ध’bout छलफलसहित सहयोग आदानप्रदान प्रवर्धन गर्न सहमति भएको छ ।

उच्चस्तरीय भ्रमण, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम तथा वैदेशिक रोजगार, संस्कृति, शिक्षा र प्रत्यक्ष हवाई उडान विषयमा छलफल भएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । छलफलमा पारस्परिक सहमति भएका क्षेत्रमा साझेदारी थप अभिवृद्धि र जनताबीचको संलग्नता प्रवर्धनका साथै पारस्परिक लाभका लागि आर्थिक अवसर प्राप्तिमा मिलेर काम गर्ने दृढ प्रतिबद्धता गरिएको छ ।

परराष्ट्र सचिव लम्सालले २१ हजारभन्दा बढी नेपालीलाई रोजगारी दिएकामा ओमान सरकारलाई धन्यबाद दिँदै ‘ओमान भिजन २०४० रणनीति’ ध्यानमा राख्दै थप अवसर उपलब्ध गराउनेतर्फ जोड दिएकी छन् । आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा उपयुक्त सम्भावना खोजीमा जोड दिँदै उनले निजी क्षेत्रलगायत सार्थक सहकार्यात्मक साझेदारी स्थापना गर्न प्रस्ताव गरेकी छन् ।

ओमानी पक्षलाई नेपालमा जलविद्युत्, पर्यटन क्षेत्र र हरित हाइड्रोजन क्षेत्रमा सहकार्यलगायत क्षेत्रमा लगानीका अवसर खोज्न आग्रह गर्दै लम्सालले लामो समयदेखिको सम्बन्ध थप सुमधुर बनाउन काठमाडौंमा ओमान दूतावास स्थापना विषयमा विचार गर्न प्रतिनिधिमण्डललाई आग्रह गरिन् ।

ओमानी उपसचिव शेख अली बिन इसा अलहार्थीले नेपाल र ओमानबीच आपसी सहमति भएका सबै क्षेत्रमा सहयोग प्रवर्धन इच्छा व्यक्त गर्दै विचाराधीन एमओयू टुंग्याउने आशा व्यक्त गरे । द्विपक्षीय सम्बन्धको सम्भावनालाई जोड दिँदै उनले वास्तविक लाभ प्राप्त गर्न मिलेर काम गर्नुपर्ने बताए । नेपाली श्रमिकको सकारात्मक र मेहनति स्वभावको उनले प्रशंसासमेत गरेका छन् । दुवै पक्षले उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान परम्परा कायम राख्ने विषयमा धारणा आदानप्रदान गरेका छन् । उनीहरूले संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

विभिन्न क्षेत्रमा संलग्नतामार्फत उत्कृष्ट सम्बन्ध विद्यमान अवस्था अभिवृद्धि गर्न पनि विचार–विमर्श गरिएको छ । परराष्ट्र सचिव लम्सालले ओमानका श्रममन्त्री डा. महद बिन सइद बिन अली वाओइनसँग शिष्टाचार भेट गरेकी छन् । भेटको अवसरमा उनीहरूबीच श्रमिक आपूर्ति तथा श्रम क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका साथै रोजगारीका अवसर उपलब्ध गराउने’bout छलफल भएको छ । सन् २०१७ मा नेपाल र ओमानबीच द्विपक्षीय परामर्श संयन्त्र गठन भएको हो ।

संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौंमा आयोजना गरिनेछ बताइएको छ । नेपाली प्रतिनिधिमण्डलमा ओमानका लागि नेपाली राजदूत दोरनाथ अर्याल, सहसचिव शरदराज आरन, परराष्ट्र मन्त्रालयको मध्यएसिया, पश्चिम एसिया र अफ्रिका महाशाखाका प्रमुख तथा मन्त्रालय र दूतावासका अन्य अधिकारीको उपस्थिति थियो ।