काठमाडौँ : नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब यहाँ जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा पुगेको छ । दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा आर्मीले पुलिस क्लबलाई ४–२ गोलले हराएको हो ।
आर्मीका लागि नवयुग श्रेष्ठले दुई तथा सुमन अर्याल र सुदिल राईले एक एक गोल गर्नुभयो । पुलिसका लागि बुद्धबल तामाङ र मानबहादुर परियारले एक एक गोल गर्नुभयो । आर्मीले उत्कृष्ट खेल प्रदर्शन गर्दै पुनः लिगको शीर्ष स्थानमा आफूलाई कायम राख्यो । पुलिसले अग्रता लिँदै खेलको २०औँ मिनेटमा बुद्धबल तामाङले पहिलो गोल गर्नुभएको थियो । कप्तान नीरकुमार राईको फ्रिकिकमा उहाँले हेडमार्फत गोल गर्नुभएको थियो । खेलको २१औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पहेलो कार्ड पाउनुभएको थियो । खेलको २४औँं मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहार खेर गयो । पुलिसका गोलरक्षक रोशन खड्काले उक्त प्रहारलाई सहजै रोक्नुभयो ।
यस्तै खेलको ३५औँ मिनेटमा आर्मीका लागि सुमन अर्यालले पहिलो गोल गर्नुभयो । सन्तोष तामाङको फ्रिकिकमा आएको बललाई सुमनले हेडमार्फत गोल गर्नुभएको हो । खेलको ४३औँ मिनेटमा भरत खवासले उत्कृष्ट प्रहार गर्नुभएको थियो तर गोल हुन भने सकेन् । यस्तै खेलको ५८औँ मिनेटमा पुलिसका मानबहादुर परियारले गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाउनुभयो । नीरकुमार राईको फ्रिकिकमा उहाँले गोल गर्नुभएको हो ।
खेलको ७७औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा पुर्याउनुभयो । यस्तै खेलको ७९औँ मिनेटमा नवयुगको प्रहार खेर गयो । खेलको ८५औँ मिनेटमा नवयुगले नै आर्मीका लागि व्यक्तिगत दोस्रो गोल गर्नुभयो । खेलको ८९औंँ मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ४–२ गोलले जिताउनुभयो । आर्मीले १० खेलमा सात खेलमा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै २३ अङ्क बटुलेको छ । यस्तै पुलिस १० खेलमा चारमा जित, दुईमा हार तथा चार खेलमा बराबरी खेल्दै १४ अंकसहित सातौँ स्थानमा छ ।