काठमाडाैं। ब्रजिल ट्रान्जिट बनाएर तेस्रो देश जान लागेको ठानिएका १७६ नेपालीहरू साओ पाउलो विमानस्थलमा अलपत्र परेपछि नेपाली अधिकारीहरूले उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन्।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रले अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे भन्नेबारे खोजी सुरु गरिएको बताए। लामो समयदेखि नेपालीहरू मानव तस्करमार्फत् ब्रजिलसहितका दक्षिण अमेरिकी देशहरू हुँदै गैरकानुनी बाटोबाट संयुक्त राज्य अमेरिका र क्यानडाजस्ता देश जाने गरेको ठानिएको छ।
“उनीहरू को थिए, कसरी त्यहाँसम्म पुगे भन्नेबारे बुझ्ने प्रयास जारी नै छ,” मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता मिश्रले भने।
“उनीहरूलाई फर्काउनुपर्ने हो वा के कस्तो सहयोग आवश्यक पर्छ भन्नेबारे पनि हामीले नियोग र परराष्ट्र मन्त्रालयसँग पनि कुरा गरिरहेका छौँ।”
मानव बेचबिखनसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको उक्त ब्यूरोले ब्रजिलमा अलपत्र परेका नेपाली नागरिकका आफन्तलाई सम्पर्कमा आउन आह्वान गरिएको जनाएको छ।
साओ पाउलो विमानस्थलमा अलपत्र परेका नेपालीहरूसँग पनि नेपाली अधिकारी र दूतावासले सम्पर्कको प्रयास भइरहेको बताएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले गैरकानुनी माध्यमबाट कुनै पनि देशमा पुगेका यात्रुहरूलाई उनीहरूकै देश फर्काउने जिम्मा सम्बन्धित वायुसेवा कम्पनीकै हुने भएकोले नेपालीहरूलाई स्वदेश फर्काउन समस्या नहुने ठानिएको बताए।
“यदि त्यसो भएन भने पनि उनीहरूलाई स्वदेश फर्काउने जिम्मा सरकारको हो। सरकारले उनीहरूलाई जसरी पनि फिर्ता ल्याउँछ,” राईले भने।
उनका अनुसार ब्रजिलस्थित नेपाली दूतावासले त्यहाँको परराष्ट्र मन्त्रालय र अध्यागमन विभागसँग पनि नेपालीहरूको अवस्था र स्वदेश फिर्तीबारे छलफल गरिरहेको छ।
ब्रजिलस्थित नेपाली दूतावासका नियोग उपप्रमुख बाबुराम सिग्द्यालका अनुसार उनीहरू काठमाण्डूबाट यूएईको दुबई र पोर्चुगलको लिस्बन हुँदै साओ पाउलो पुगेका थिए।
तीमध्ये रुकुमका एक युवा बिरामी परेर अस्पताल भर्ना भए पनि अरूको अवस्था सामान्य रहेको उनले बताए।
"उनीहरूले 'अवस्था सामान्य छ' भनेका छन्। सहयोग र उद्धारको आवश्यकता नरहेको बताए," बीबीसीसँगको कुराकानीमा उनले भने।
नेपालीसहितका विदेशी नागरिकहरू साओ पाउलो विमानस्थलमा अलपत्र परेको समाचार स्थानीय पत्रपत्रिकामा प्रकाशित भएपछि आफ्नो ध्यानाकर्षण भएको दूतावासले जनाएको छ।
अमेरिका र क्यानडा जान ब्रजिललाई ट्रान्जिट बनाउने प्रवृत्ति बढेको विवरणहरू आउन थालेको ब्रजिलस्थित नेपाली दूतावासको भनाइ छ।
उपप्रमुख सिग्द्यालले १७६ नेपालीहरू साओ पाउलोमा रोकिएको र उनीहरूको अवस्था सामान्य रहेको भन्ने जानकारी आफूहरूले पाएको बताए।
उनीहरू कहाँ जान लागेका थिए भन्ने बीबीसीको जिज्ञासामा सिग्द्यालले भने, “त्यस्तो जानकारी हामीलाई छैन तर स्थानीय सञ्चारमाध्यमले बताएअनुसार र हामीले अनुमान गरेअनुसार उनीहरूको अन्तिम गन्तव्य अमेरिका वा क्यानडा नै होला भनेर अनुमान गर्न सक्छौँ।”
अलपत्र परेका नेपालीहरूले मङ्गलवारसम्म नेपाली दूतावासको सहयोगका लागि आग्रह भने गरेका थिएनन्।
ब्रजिलियास्थित नेपाली दूतावासले मङ्गलवार विज्ञप्ति जारी गर्दै ब्रजिलले हालैबाट नेपालसहितका देशका नागरिकहरूलाई अगाडि नै भिसा लिएर मात्रै प्रवेश अनुमति दिने नियम बनाएको जानकारी गराउँदै अग्रिम प्रवेशाज्ञा लिएर मात्रै उक्त देश जान भनेको छ।
ब्रजिलको सरकारी निकायले भने नेपालीहरूले आफ्नो देशलाई ट्रान्जिट बनाइरहेको भन्नेबारे औपचारिक वा अनौपचारिक रूपमा कुनै जानकारी भने दिएको छैन। तर उक्त देशलाई ट्रान्जिट बनाएर तेस्रो देश जाने क्रम बढेकाले रोक्नका लागि अग्रिम भिसा लिनुपर्ने नियम ल्याइएको जानकारी ब्रजिलका सरकारी निकायहरूले सार्वजनिक गरेको दूतावासका नियोग उपप्रमुख सिग्द्याल बताउँछन्।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका संस्थापक प्रमुख तथा भूतपूर्व प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्की गैरकानुनी बाटोबाट अमेरिका र क्यानडा पुग्ने प्रलोभनमा अधिकांश नेपालीहरू ठगिने गरेको बताउँछन्।
“अधिकांश घटनामा नेपालीहरू ठगिएका छन्। नेपालबाट लगेर ल्याटिन अमेरिकाका तस्करहरूलाई जिम्मा लगाइसकेपछि त्यहाँ फेरि एक पटक ठगिने र उनीहरूबाट दोहन हुने गरेको पाइन्छ। त्यसरी ठगी गर्नेहरूविरुद्ध प्रमाण पुर्याएर न्याय पाउने सम्भावना चाहिँ निकै कम हुन्छ,” कार्की भन्छन्।
गैरकानुनी बाटोबाट अमेरिकासहितका देशहरू जाने अधिकांश नेपालीहरू आफन्त र साथीभाइबाटै ठगिने गरेको पाइएको अधिकारीहरू बताउँछन्।
“आफैँले अमेरिका पुर्याउन नेपाली तस्करहरू संलग्न भएको भेटिँदैन। उनीहरूको काम अर्को देशसम्म पुर्याएर त्यो देशका तस्करहरूलाई जिम्मा लगाउने र त्यो देशकाले फेरि अर्को देशका तस्करलाई जिम्मा लगाउने गर्छन्,” कार्की भन्छन्।
नेपालीहरू गैरकानुनी बाटोबाट अमेरिका र क्यानडाजस्ता देशहरूमा जाने प्रयास गर्नुमा सामाजिक मनोविज्ञान र बेरोजगारीको समस्या प्रमुख कारण देखिएको जानकारहरू बताउँछन्।