कन्सुलर सेवा बन्द हुँदा पोर्चुगलमा रहेका नेपाली समस्यामा, सरकारसँग हारगुहार

कन्सुलर सेवा बन्द हुँदा पोर्चुगलमा रहेका नेपाली समस्यामा, सरकारसँग हारगुहार

लिस्वन । पोर्चुगलमा पछिल्लो तीन वर्षदेखि आवासीय अनुमति पत्रको आशामा बसिरहेका नेपालीहरू नेपाल सरकारको आधिकारिक कन्सुलर सेवा बन्द भएपछि मारमा परेका छन् । 

नेपाल विश्व मान्यताप्राप्त नोटरी सेवामा आबद्ध नभएको कारण अहिले पोर्चुगलमा रहेका नेपालीले आफ्ना कागजपत्रहरू नोटरीमार्फत ट्रान्सलेट गर्न असमर्थ भएका हुन् । यसका लागि मान्यताप्राप्त राजदूत वा सम्बन्धित देशको काउन्सुलरले नै प्रमाणीकरण गर्नुपर्ने बाध्यता रहेको छ । 

पोर्चुगलमा हालै आधिकारिक कन्सुलर सेवा बन्द भएकोले नेपालबाट मगाइएको पुलिस रिपोर्ट ट्रान्सलेट गरी छाप लगाउने काम पूर्ण रूपले स्थगित भएको छ । 

सन् १९६१ सालमा नेदरल्याण्डको हेग भएको नोटरीहरुको विश्व सम्मेलनमा आफ्नो सदस्यता कायम गरेको भए आज यो समस्या आउने थिएन । 

त्यसो त कानुनतः फ्रान्समा रहेका राजदूत सुधीर भट्टराई जो पोर्चुगलको आवासीय राजदूत समेत हुन्, उनले पोर्चुगल आएर  सेवा प्रदान गर्न सक्नेछन् । यसका लागि सरकारी तवरबाटै प्रयास हुन आवश्यक देखिन्छ । 

त्यसो त सरकारले पोर्चुगलका लागि राजदूतको रूपमा प्रकाशमणि पौडेललाई नियुक्त गरिसकेको छ । अव छिटो भन्दा छिटो बाँकी प्रक्रिया पूरा गरेर उनलाई पोर्चुगल पठाउन आवश्यक देखिन्छ ।पोर्चुगलमा रहेका हजारौँ नेपाली यही दिनको पर्खाइमा छन् ।