करेन्ट लागेर एकजना विद्युतका कर्मचारीको मृत्यु, तीन जना घाइते

करेन्ट लागेर एकजना विद्युतका कर्मचारीको मृत्यु, तीन जना घाइते

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर एकजना विद्युतका कर्मचारीको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राई रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार शनिबार दिउँसो विद्युतका तार आसपासका रुख काटछाट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको हो ।

२०६६ साल फागुनदेखि उक्त कम्पनीमा कार्यरत प्राविधिक राईको स्थायी ठेगाना थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिम हो । सोही घटनामा परी घाइते भएका विद्युत कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत्त सोलुदुधकुण्ड नगरपालिका–६ का ३० वर्षीय वुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीको रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीय टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिइन् ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ । घाइतेहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको सल्लेरी च्याल्सा विद्युत कम्पनीको कार्यालय सल्लेरी सोलुखुम्बुले जनाएको छ । 

विद्युत कम्पनीले हाइटेन्सन लाइनको तार आसपासको रुख काटछाट गर्ने क्रममा एक्कासी विद्युत प्रवाह हुँदा एकैसाथ ४ जनालाई करेन्ट लागेको घाइते टसी शेर्पाले बताए ।  भर्‍याङ तारमा छुँदा करेन्ट लागेको उनको भनाइ छ ।

 यद्यपि घटनाको कारण भने खुलेको छैन । उक्त कम्पनीले जिल्ला सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रमा गरी करिब तीन हजार चार सय घरधुरीलाई विद्युत सेवा उपलब्ध गराउँदै आएको सल्लेरी च्याल्सा विद्युत कम्पनीले जनाएको छ ।