बुटवलमा छाडा साँढेको आक्रमणबाट महिलाको मृत्यु

बुटवलमा छाडा साँढेको आक्रमणबाट महिलाको मृत्यु

रूपन्देही । बुटवलमा साँढेको आक्रमणमा परेर पसल गएकी एक महिलाको मृत्यु भएको छ । साँढेको जुढाईमा परेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ ।

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । गुल्मीको रेसुंगा नगरपालिका ४ घर भई बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बस्दै आएकी सीताले पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।

गत साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।

छाडा दुई साँढेबीच सडकमा जुध्दै गरेका बेला दूध लिन हिंडेकी सीतालाई साँढेले कुल्चिएपछि गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको सीताको २४ गते मृत्यु भएको हो ।

बुटवल उपमहानगरले बुटवल ७ स्थित शिवनगर सामुदायिक वनभित्र गौशाला बनाई छाडा चौपाया राख्ने गरेपनि हरेक दिन बुटवलमा अन्यत्रबाट नयाँ नयाँ छाडा चौपाया भित्रिने क्रम रोकिएको छैन ।

सीमावर्ती अन्य पालिकाहरुबाट हरेकदिन बुटवलमा नयाँ चौपाया थपिने गरेको बुटवल उपमहानगरले जनाएको छ । बुटवलमा छाडा चौपाया नियन्त्रण नहुँदा सडकमा सवारी साधन दुर्घटनाको समेत जोखिम बढ्दै गएको छ । उनका दुई वटा बच्चा रहेका छन् ।