काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेला बेला जनतामा जाने कुरा गरिरन्छन्। जबजब प्रचण्ड सत्ताबाट बाहिरिनुहुन्छ तबतब उनलाई जनताको सम्झना आउँछ।
अनि माओवादी नेताहरू जनतामा जाने कुरा उठाउँछन्। अहिले फेरि माओवादीमा पुनः जनतामा जाने विषय उठेको छ। सत्ता गुमेपछि माओवादीलाई जनमतको चिन्ता लागेको छ। पछिल्ला नौ वर्ष निरन्तर सत्तामा रहेको माओवादीलाई प्रतिपक्षमा पुगेपछि पार्टी, संगठन र जनताको माया लाग्न थालेको हो।
२०७२ असोजदेखि (सात महिनाबाहेक) एक महिना अघिसम्म सत्तामा रहेको माओवादीले अब पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ। माओवादी पदाधिकारी बैठकले गाउँस्तरदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
सरकारबाट बाहिरिएसँगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएकाले पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए।
पुनर्जागरण अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना बनाउन माओवादीले आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको छ। गत असार १७ गते राति नेपाली कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेपछि असार २८ गते माओवादी सत्ताच्युत भएको थियो।
२०७२ असोज २५ गते नेकपा (एमाले) अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री स्वीकारेर सरकारमा सहभागी भएपछि माओवादी सत्ताको स्थायी साथी बन्न पुगेको थियो। त्यसपछि तत्कालीन नेकपाकालीन अवस्थाको (५ पुस २०७७ देखि २८ असार २०७८ सम्मको) सात महिने अवधिबाहेक सधैँ सरकारमा रहृयो।
दुईपटक माओवादी अध्यक्ष प्रचण्डले सरकारकै नेतृत्व लिए भने अरू समय उपप्रधानमन्त्री सरकारमा सहभागी भयो। जबकी पार्टी शक्ति भने त्यसअघिदेखि नै आरोलो लागिरहेको थियो। प्रत्येक चुनावमा माओवादीको शक्ति घट्दो क्रममा छ।
सामान्यतः सरकार भनेको पार्टीको नीति तथा कार्यक्रम लागू गर्ने ठाउँ हो। यस बीचमा लगातार मतदाताको लागि काम गर्ने अवसर पाएको माओवादी जति धेरै सरकारमा बस्छ, उति नागरिकसँग दूरी बढाएको देखिन्छ।
पछिल्ला दुईवटा निर्वाचनको जनमतलाई हेर्दा तीन ठूला दलमध्ये सबैभन्दा धेरै मतको क्षति भोग्नेमा माओवादी पहिलो नम्बरमा छ । ठूलो युद्धको नेतृत्व गरेर सत्ता राजनीतिमा आउने क्रममा माओवादी नेतृत्वको काँधमा केही भुल्नै नहुने दायित्व पनि थिए ।
तर, यसमा पनि उल्लेख्य प्रगति भएन । क्रान्तिकारी ब्रान्ड बोकेको पार्टीले आफ्नै युद्धका शहीद, बेपत्ता परिवार र घाइते-अपाङ्हरूको जीवनमा सामान्य सुधार ल्याउन पनि सकेन । निरन्तर पार्टीको आकार घट्नु जनमत गुमाउनु त हुँदै हो ।
माओवादी पार्टी र नेतृत्वले आफ्नैै पार्टी पंक्तिको पनि विश्वास गुमाएको छ। घाइते, अपाङ्गहरूको बेहाल छ । शहीद परिवारको विचल्ली छ । केवल सीमित नेताको परिवारमा मात्र समृद्धि आएको छ ।
कल्पनै गर्न नसकिने वर्ग उत्थान देखिएको छ । मोहन वैद्य, नेत्रविक्रम चन्द, सिपी गजुरेल मात्र होइन, डा. बाबुराम भट्टराईसहितका नेताहरू अहिले माओवादीले दाबी गर्ने मूलधारमा छैनन्।
उसो त जनतासँग सम्बन्धविच्छेद भएर पार्टी बिग्रिएको निष्कर्षसहित माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ गरेको थियो । माओवादीले गत भदौ १७ गतेदेखि मंसिर १७ सम्म तीन महिने अभियान सुरु गरेको थियो ।
पछि एक महिना थप गरेको थियो । अभियानका क्रममा एउटा पालिकामा कम्तीमा एक जना माओवादी केन्द्रीय नेता खटिएका थिए । तर, अभियान जनतासम्म भनिए पनि कार्यकर्तासम्म मात्रै पुगेर फर्किएको थियो । फेरि पनि माओवादीको पुनर्जागर अभियान कर्मकाण्डी मात्रै नहोला भन्न सकिन्न।
सीमित नेतालाई सधैँ लाभ
२०६२ साल मंसिरमा १२ बुँदे सम्झौतामार्फत माओवादीले सशस्त्र विद्रोह त्यागेर शान्ति प्रक्रियामा आएको थियो । सोही सम्झौताको जगमा भएको ०६२/६३ को जनआन्दोलनले २४० वर्षे लामो राजतन्त्र ढाल्यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । शान्ति प्रक्रियाको करिब १९ वर्षमा माओवादीले सत्ताको लाभैलाभ लिएको छ ।
राजतन्त्र ढलेपछि ०६३ सालमा तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको अन्तरिम सरकारबाट माओवादीले सत्ता यात्रा प्रारम्भ गरेका थियो । गणतन्त्र स्थापनापछि करिब १९ वर्षमा बनेका १३ वटा सरकारमध्ये माओवादीले चारवटा सरकारको नेतृत्व गरेको छ । १० वटा सरकारमा महत्वपूर्ण हिस्सासहित सरकारमा सहभागी भएको छ । तीनवटा सरकारमा प्रतिपक्ष दलको भूमिका निर्वाह गरेको छ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल रहेको माओवादीको नेतृत्वमा सरकार बनेको थियो । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्ड भएका थिए। दुई तिहाइको सरकार प्रधान सेनापति रुपमाङ्गत कटुवाल प्रकरणमा नौ महिनामै प्रचण्डले राजीनामा दिए। त्यसपछि माओवादी अधिकांश समय सत्तामा रहृयो ।
२०६८ सालमा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री बने। २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि एमालेका अध्यक्ष ओली माओवादीको समर्थनमा प्रधानमन्त्री भए। तर, नौ महिना नपुग्दै ०७३ सालमा कांग्रेसको समर्थनमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भए। २०७४ फागुन ३ गते ओली माओवादीको समर्थनमा ओली दोस्रोपटक प्रधानमन्त्री भए।
४० महिनामा ओली सरकार ढलेपछि फेरि माओवादी कांग्रेस नेतृत्वमा सरकारमा गयो। २०७९ को निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए। निर्वाचनपछि कांग्रेसलाई जिल्ल्याउँदै एमालेको समर्थनमा प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्न सफल हुनुभयो । सत्ताको मोहमा लाग्दा २०६४ मा पहिलो दल बनेको माओवादी ३२ सिटमा झरेको छ।