काठमाडौं । सरकारले १८ देशका लागि नेपाली राजदूत नियुक्त गरेको छ ।
सोमबार बसको मन्त्रिपरिषद् बैठकले भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिएको छ भने अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्श रेग्मीलाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा माओवादी केन्द्र र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको ती मन्त्रीले जानकारी दिए।
चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए । ती देशमा नयाँ राजदूत सिफारिस भएका छन् ।
यसैबीच मन्त्रिपरिषद् बैठकले तीन प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ। बाग्मतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी सिफारिस भएका छन्। उनीहरूको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ।
यसअघि बाग्मतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका प्रदेश प्रमुखलाई हटाएर एमाले र कांग्रेस पृष्ठभूमिका सिफारिस भएका हुन्।