काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरु खोलेको जस आफूलाई नचाहिने बताएका छन्।
सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरु पनि आफैंले खोलेको र भ्रष्टाचार पनि आफैंले गरेको हो भनेर स्वीकार्न आग्रह गरे।
उनले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरु आफूले पुनः खोल्ने काम मात्रै गरेको बताए। उनले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप लगाए।
उनले भने, ‘हिजो भर्खरै यहाँ कुराहरु चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमीहरुलै खोलेकै होइनौँ भन्नेकुराहरु आए। ठिक छ, तपाईंहरुले नै खोल्नुभएको हो, हामीलाई जस चहिएको पनि होइन। काण्डहरु पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो। ३० औं वर्षमा यि काण्डहरु पनि आफैंले गरेको हो भनिदिए राम्रो हुन्थ्यो । फाइल तपाईंले नै खोल्नुभएको हो। तर बन्द नहुँदै ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास गर्नुभयो। जुन फाइलमा प्राण थियो। त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोशिस गरेका हौं।’
सभापति लामिछानेले आफू सरकारमा कुनैपनि पूर्वाग्रही रहेर काम नगरेको जिकिर गरे।
भ्रष्टाचार प्रकरणको फाइल खोलेका कारण सरकार ढालियो भन्ने पूर्वगृहमन्त्री लामिछानेको भनाइको खण्डन गर्दै अघिल्लो संसद बैठकमा महामन्त्री शर्माले उक्त आरोप निराधार रहेको बताउनु भएको थियो ।
विभिन्न प्रकरणका फाइल खोलेको मिति प्रस्तुत गर्दै निवर्तमान गृहमन्त्री लामिछानेले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेको शर्माको आरोप थियो ।