कोशी सरकारबाट बाहिरियो माओवादी

कोशी सरकारबाट बाहिरियो माओवादी

काठमाडौं। नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। आज (शुक्रबार) सरकारमा सहभागी चार जना मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएसँगै माओवादी सरकारबाट बाहिरिएको हो।

कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जा मगर मन्त्री थिए। त्यस्तै, वन्दना झाँग राज्यमन्त्री थिइन्। उनीहरुले सामूहिक रुपमा मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

सरकारबाट बाहिरिएपनि माओवादीले समर्थन भने फिर्ता नलिने निर्णय गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट भने बाहिरिने निर्णय गरेको थियो। कोशीमा अब केन्द्रीय गठबन्धन बमोजिम एमाले–कांग्रेसको सरकार बन्ने बताइएको छ।