५० दिन बितिसक्दा पनि अन्तरिक्षमै अलपत्र छिन् सुनिता

५० दिन बितिसक्दा पनि अन्तरिक्षमै अलपत्र छिन् सुनिता

वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स अन्तरिक्षमा अलपत्र परेको हप्तौँ भइसक्यो । सुनिता र अमेरिकी नौसेनाका सेवा निवृत्त कप्तान बुच विलमोर जुन ५ मा बोइङको स्टारलाइनर चढेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)गएका थिए ।

तर स्टारलाइनरबाट हिलियम चुहिने लगायत प्राविधिक समस्या देखिएपछि उनीहरूको पृथ्वी फिर्ता हुने समय अनिश्चित बनेको छ । दुवैले अन्तरिक्षमा बिना पानी बिउ हुर्काउने तरिकामा काम गरिरहेका थिए ।

नासाले अहिलेसम्म पनि यी दुवैलाई फर्काउने मिति तोक्न सकेको छैन । आइएसएसमा अन्तरिक्ष यान बिग्रिएपछि नासा र बोइङको टोलीले सो यानमा कस्तो खालको समस्या आएको हो ? र सोको समाधान कसरी गर्न सकिन्छ ? भनेर बुझ्न गएको केही हप्तामा कयौँ परीक्षण पनि गरेको थियो ।

यो सप्ताहान्तमा पनि थप परीक्षण भएका छन् । यसअघि स्टार लाइनरलाई हातैले नियन्त्रण गरेर दुई अन्तरिक्ष यात्रीलाई पृथ्वी फर्काइने योजना पनि नासा र बोइङले बनाएका थिए । तर अब भने सो योजना त्यागिएको छ ।

उनीहरूलाई सोही अन्तरिक्ष यानमा ल्याउने हो कि अर्को भन्नेबारे पनि स्पष्टसँग बताइएको छैन । दुवैलाई फिर्ता ल्याउन स्टार लाइनरको प्रयोगलाई अनुमति मिलेन भने नासासँग अर्को आकस्मिक विकल्प रहेको नासाका कमर्शियल क्रु प्रोग्राम म्यानेजर स्टिभ स्टिचले भनेका छन् ।

सुनिता र विच जुन ६ मा करिब एक हप्ताको मिसनका लागि आइएसएस पुगेका थिए । तर त्यहाँ उनीहरूको बसाई बिहीबार ५० दिन पुगेको छ ।