काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएकी छिन् । १२ सय जना विद्यार्थी नेपाल आइसकेको परिपेक्षमा उनले आज बिहान त्यहाँ रहेका नेपाली विद्यार्थी सुरक्षित रहेको दाबी गरेकी हुन् ।
उनले भनेकी छिन्,'ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ । बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन् ।'
बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उत्पन्न परिस्थितिले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू प्रभावित भएका जनाउँदै त्यहाँबाट विद्यार्थी र यहाँ उनीहरूका आफन्तहरूले समेत चिन्ता व्यक्त गरेपछि उनीहरूलाई त्यहाँ सुरक्षित तवरमा बस्ने र आवश्यक परे नेपाल फर्किने व्यवस्थाका लागि पनि परराष्ट्र मन्त्रालयले उचित प्रबन्ध गरेको उनले बताएकी छिन् ।
बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार मात्र ४२० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । जसमा ३०५ जना काकरभिट्टा बोर्डरबाट नेपाल भित्रिएका छन् ।मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् ।