ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार

ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनेगरी अघि बढेको छ । नेपाली कांग्रेससँगको सहमतिपश्चात एमालेले ओलीको नेतृत्वमा बन्ने सहमतिको सरकारको स्वागत गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारको स्वागत गरेको हो । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्गप्रशस्त गर्न आग्रहसमेत गरेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले कांग्रेससँग भएको सहमतिनुसार अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरू दललाई पनि सहभागी हुन आह्वान गरेको हो ।

‘कांग्रेस र एमालेबीच ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने पार्टी सचिवालय बैठकले निर्णय गरेको छ,’ ज्ञवालीले भने, ‘सहमतिको सरकारमा सहभागी हुन राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ, त्यसका लागि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न बैठकले आग्रह गर्ने निर्णय गरेको छ ।’

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको थियो । सरकारको नेतृत्व आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको दुवै दलका नेताको भनाइ छ । यद्यपि, दुई दलका बीचमा भएको सहमतिपत्र सार्वजनिक गरिएको छैन ।

एमाले बैठकले आफ्ना मन्त्रीहरूलाई भने सरकारबाट फिर्ता बोलाएको छैन । कांग्रेस–एमाले नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बन्ने समझदारी बनेसँगै प्रचण्डलाई एमालेले आफैं राजीनामा गर्न आग्रह गरेको छ । प्रचण्डले राजीनामा गरेर मार्गप्रशस्त नगरे एमालेले आफ्ना मन्त्रीलाई फिर्ता गरेर समर्थन पनि फिर्ता लिने बताइएको छ ।

ज्ञवालीले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय भएसँगै अहिले मन्त्री फिर्ता नबोलाइएको बताए । उनले प्रधानमन्त्रीले एमालेको आग्रहलाई स्वीकार नगरे बाँकी निर्णय लिने बताए । ज्ञवालीले संविधानको धारा ७६(२) अनुसार सरकार बन्न कुनै समस्या नरहेको समेत बताए ।

‘हामीले कुनै दलसँग सम्बन्ध चिसो होस्, असमझदारी बढोस् भन्ने चाहिरहेका छैनौं, मिलेरै अगाडि बढ्ने हो,’ ज्ञवालीले भने, ‘उहाँ (प्रधानमन्त्री)ले सत्ता साझेदार दललाई पनि विश्वासमा लिएर अगाडि बढ्न सक्नुभएन, सर्वोच्च अदालतको व्याख्या छ, एउटै धाराअन्तर्गत पनि पटकपटक सरकार बन्नसक्छ, कसैले उपधारा ३ अनुसार सरकार बन्छ भन्ने सोचेको छ भने त्यो गलत कुरा हो ।’

एमाले र कांग्रेसका बीचमा संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमति’को सरकार बनाउने सहमति भएको हो । निर्वाचनयता २ वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । अब गठन हुने सरकारमा सबै दललाई सहभागी गराउँदै दुई तिहाइ पु¥याउने र संविधान संशोधनसमेत गर्ने भनिएको छ ।

एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न आग्रह गरे पनि माओवादी केन्द्रको पदाधिकारी बैठकले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको छ । मंगलबार नै बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले राजीनामा नदिने र संसद्मा विश्वासको मत लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति भवन शीतल निवास पुगेर पछिल्लो राजनीतिक घटनाक्रमका ’boutमा जानकारीसमेत गराउँदै आफूले राजीनामा नगर्ने पार्टीको निर्णय’bout जानकारी गराएका छन् ।

यसैबीच, कांग्रेसका सभापति शेरबहादुर देउवा र अन्य दलका नेताबीच छलफल भएको छ । एमाले र माओवादीका बीचमा संविधान संशोधन गर्नेगरी बन्न लागेको राष्ट्रिय सहमतिको सरकारका ’boutमा जानकारी गराउँदै देउवाले अरू दललाई समेत सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, कृष्णप्रसाद सिटौला, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लालगायतको सहभागिता रहेको थियो ।

जवाफमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल संविधान संशोधनको पक्षमा रहेको भन्दै साथ दिने जवाफ दिएका छन् । मधेसवादी दलहरूले समेत संविधान संशोधन आफूहरूको माग रहेकाले राष्ट्रिय सहमतिको सरकार बन्ने र संविधान संशोधन हुने भएपछि आफूहरूको सहमति हुने बताएका छन् ।

अन्य दलका नेताहरूसँग छलफल गरेका देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग समेत छलफल गरेका छन् । एकीकृत समाजवादीको १०औं महाधिवेशन कमलादीमा चलिरहेको छ । महाधिवेशन चलिरहेकै बेलामा निस्केका नेपालले देउवालाई भेटेका थिए । ओली नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुने कि नहुने भन्ने निर्णय पार्टी महाधिवेशनपछि गर्ने जवाफ नेपालले देउवालाई दिएका छन् ।

राप्रपाको मंगलबार नै बसेको पदाधिकारी बैठले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ । राप्रपा संविधान संशोधनको पक्षमा रहेको भए पनि सरकारमा सहभागी हुने कि नहुने भन्ने निर्णय पछि गर्ने जनाएको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । बैठकले नयाँ गठबन्धन मुलुक र जनताको हितमा नरहेको भन्दै यसले मुलुकलाई राजनीतिक स्थायित्व पनि नदिने निष्कर्ष निकालेको छ ।

साथै, रास्वपाले तत्काल प्रचण्ड नेतृत्वको सरकार पनि नछाड्ने भएको छ । प्रचण्डले कठिन परिस्थितिमा साथ दिएकाले उनले राजीनामा नदिँदासम्म मन्त्री फिर्ता नबोलाउने निर्णय रास्वपाले गरेको छ । अहिले रास्वपा सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्रीसहित पार्टीबाट नेतृत्व गर्दै सरकारमा सहभागी छन् । रविले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा नगर्न र संसद्मा विश्वासको मत फेस गर्न सुझाव दिएको बताइएको छ ।

राजधानी दैनिकबाट