अब ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारः शंकर पोखरेल

अब ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारः शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गरेका छन्।

उनले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने गरी नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सहमति भएको समेत बताएका छन्। मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एमाले महासचिव पोखरेलले संविधानको आवश्यक संशोधन र सोही अनुरूपका कानुन निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन गरी सहमति भएको बताए।

पोखरेलले यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिनेसमेत बताएका छन्। ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बिचमा समझदारी। यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने’, पोखरेलले लेखेका छन्।