पिकनिक मनाउन गएका एकै परिवारका ४ जनाको डुबेर मृत्यु

पिकनिक मनाउन गएका एकै परिवारका ४ जनाको डुबेर मृत्यु

नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको मुम्बई नजिकै लोनावालामा आइतबार ठुलो दुर्घटना भएको छ । लोनावलामा बिदा मनाउन गएका एकै परिवारका सात जना झरनाको पानीमा बगेका थिए । झरना भुसी बाँध पछाडिको पहाडमा थियो ।

सात जनामध्ये दुई जनाले पौडिएर आफ्नो ज्यान बचाए । आइतबार तीन जनाको शव फेला परेको थियो । सोमबार अन्य दुई जनाको खोजी जारी थियो । खोजीका क्रममा थप एक शव फेला परेको थियो । योसँगै यस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बेपत्ता एक जनाको खोजी जारी रहेको बताइएको छ ।

सो क्षेत्रमा धेरैजसो मानिसहरू मनसुनमा बिदा मनाउन आउने गरेका छन् । आइतबार पीडितको परिवार पनि पिकनिकको लागि मुम्बईबाट ८० माइल टाढा रहेको लोनावाला गएको थियो । आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाँध पानीले भरिएको थियो । जसका कारण झरनामा पानीको बहाव बढ्यो । घटना भिडियो क्यामेरामा कैद भएको छ । जसमा परिवारका सदस्यहरू एक अर्कालाई समातेर ढुङ्गामा उभिएको देख्न सकिन्छ ।

केही मिनेटमै पानीको तीव्र बहावमा परिवार नै बगे । उनीहरूले सहयोगका लागि हार गुहार गरेको पनि सुनिन्छ । तर पानीको बहाव तीव्र हुँदा मद्दतका लागि कोही पनि जान सकेनन् । यो घटना आइतबार दिउँसो १ः३० बजेको हो ।