फणिन्द्र देवकोटाले लिए दोस्रोपटक मन्त्री पदको शपथ

फणिन्द्र देवकोटाले लिए दोस्रोपटक मन्त्री पदको शपथ

पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य पद थमौती गरिदिएपछि नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणिन्द्र देवकोटा फेरि मन्त्री बनेका छन् ।

उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार बिहान पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । देवकोटा दोस्रोपटक गण्डकीको मन्त्री बनेका हुन् । गएको जेठ २८ गते उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्ट देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त गरिएको थियो ।

नेसपाको सांसद भए पनि उनको संसदीय दल नेकपा (माओवादी केन्द्र) हो । माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट प्रतिस्पर्धा गरेर निर्वाचित हुँदै उनी प्रदेशसभा सदस्य बनेका हुन् । उनले पाण्डेलाई विश्वासको मत दिएपछि दलले कारबाही गरेको थियो । र, मन्त्री बनेको तीन दिनमै जेठ ३२ गते उनले सांसद पद गुमाएका थिए ।

त्यसपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका थिए । असार ६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई मन्त्रीबाट हटाइएको सूचना प्रदेश प्रमुखको कार्यालयमा दिएको थियो ।

माओवादीको कारबाहीपश्चात् देवकोटा सर्वोच्च पुगेका थिए । असार १० गते सर्वोच्चले उनको सांसद पद रिक्त गर्ने सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । सर्वोच्चको आदेशसँगै पद फिर्ता पाएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले फेरि सोही मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।