संक्रमण भएको ४८ घण्टामै ज्यान जाने भाइरस नेपालमा फैलने सम्भावना कति ?

संक्रमण भएको ४८ घण्टामै ज्यान जाने भाइरस नेपालमा फैलने सम्भावना कति ?

काठमाडौं । यतिबेला जापानमा मृत्युदर बढी भएको डरलाग्दो भाइरसको संक्रमण बढ्दो क्रममा छ। हालसम्मको तथ्यांक अनुसार जापानमा ९७७ जनामा  ४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम दिइएको एसटिएसएस अर्थात्  'इस्ट्रेपटोकोक्कल टक्सिक शक सिन्ड्रोम' देखिएको छ। 

यो रोगका कारण जापानमा ७७ जनाको ज्यान गइसकेको छ। जापानमा फैलिरहेको उक्त रोग नेपालमा पनि आउने सम्मभावना रहेको विज्ञहरु बताउँछन्। जापानमा धेरै नेपालीहरु रहेका कारण त्यहाँ रहेका नेपाली पनि जोखिममा रहेको अनुमान गरिएको छ। यसका साथै जापानबाट नेपालमा धेरै मानिसहरु आइरहेका कारण नेपालमा पनि उक्त संक्रमण फैलिन सक्छ? भन्ने जिज्ञासा आउन थालेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले नेपाल पनि उक्त रोगको जोखिममा रहेको तर हालसम्म नेपालमा उक्त रोग नदेखिएको जानकारी दिए। उनले जापानमा फैलिरहेको रोगका विषयमा महाशाखाले छलफलहरु अगाडि बढाइरहेको र आगामी १५ गते शनिबार  बहुविशेषज्ञहरुसँग थप छलफल पनि राखिएको जानकारी दिए।

'जापानमा धेरै नेपाली रहेका कारण उनीहरुको स्वास्थ्यका विषयमा पनि हामीले चासो दिइरहेका छौं। साथै नेपालमा उक्त रोग आउन नदिन के गर्ने, कसरी उक्त रोगको रोकथाम गर्ने लगायतका विषयमा वृहत छलफल डाकेका छौं,' उनले भने, 'नेपाल सरकार यो विषयमा निकै गम्भीर र सचेत छ। यसका लागि आवश्यक कदम अगाडि बढाइरहेको छ।'

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक समेत रहेका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन यो संक्रमण नौलो नभएकोले नेपालमा पनि हुन सक्ने बताउँछन्। 

डा पुनका अनुसार यो पहिले नै पहिचान भइसकेको ब्याक्टेरिया हो। एसटिएसएसलाई घातक मानिए पनि दुर्लभ मानिन्थ्यो। तर पछिल्लो समय जापानमा बढ्दो क्रममा देखिएकोले विश्वको ध्यान हाल यो संक्रमण प्रति आकृष्ट भएको उनले जानकारी दिए।

डा पुनका अनुसार यो रोग विशेषत: संक्रमित व्यक्तिको थुकको छिटाबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। बोल्दा, खोक्दा वा हाछ्यु गर्दा ब्याक्टेरिया अर्को व्यक्तिमा सर्न सक्दछ। संक्रमितको थुकको छिटा भएको वस्तुमा छोई नाक वा मुखमा छोएमा पनि संक्रमण सर्न सक्दछ। केही अनुसन्धानहरुले पारिवारिक सदस्य र अस्पताल कर्मचारीबीच यो ब्याक्टेरिया फैलिएको देखाएका थिए।    

४८ घन्टामै मानिसको मृत्यु गराउने ब्याक्टेरिया फैलियो, यस्ता छन् लक्षणहरू