वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

काठमाडौं । वीर अस्पतालले सोमबार (आज)देखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसको अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्रा. डा. राजीव झाले जानकारी दिए ।

उनका अनुसार, आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । अरू अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा एकदेखि तीन लाख रुपैयाँसम्म पर्छ ।

शरीरका कोषिकाहरू असामान्य ढंगबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उनले जानकारी दिए । “मानिसको उमेर बढ्दै जाँदा शरीरका अंगहरू कमजोर हुनेक्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ,” उनले भने ।

ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकीरण पनि हो । एक्स–रे, सीटीस्क्यान गराउँदा निस्कने विकीरण हानिकारक मानिन्छ । ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको ‘एसआरएस’ अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ । तर, उच्च डोजको विकीरण हुने भएकाले शरीरका अरू भागमा प्रत्यक्ष असर गर्छ र पछि क्यान्सरको जोखिम बढाउने चिकित्सक बताउँछन् ।

अस्पतालमा दैनिक ६ देखि आठजना ब्रेन ट्युमरका बिरामी उपचार गराउन आउने गरेका छन् । झाका अनुसार, मुलुकभरि प्रत्येक दिन ब्रेन ट्युमरका १०० बिरामी अस्पताल आउने गरेका छन् ।

ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गरिए यो रोगबाट पर्ने असर, ब्रेन ट्युमरका कारण हुने शारीरिक र मानसिक दुर्बलतालाई कम गर्न सकिने उनको भनाइ छ ।