प्रतिबन्ध खोल्न आग्रह गर्दै टिकटकले पठायो सातौं पत्र

प्रतिबन्ध खोल्न आग्रह गर्दै टिकटकले पठायो सातौं पत्र

काठमाडाैं। चिनियाँ सामाजिक सञ्जाल टिकटककले नेपालमा उक्त एपमाथि लगाइएको प्रतिबन्ध खोल्न आग्रह गर्दै नेपाल सरकारलाई सातौँ पत्र पठाएको छ।

टिकटकको सार्वजनिक नीति र सरकारसँगको सम्बन्ध हेर्ने दक्षिण एशिया प्रमुख फिरदौस मोत्तकिनले मे १७ मा पठाएको पछिल्लो पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेर पत्र लेखेका छन्।

सरकारले "सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको" भन्दै गत नोभेम्बर दोस्रो साता नेपालमा उक्त एपमाथि प्रतिबन्ध लगाएको थियो। नेपालमा प्रतिबन्ध लागेपछि टिकटकको माउ कम्पनी बाइटड्यान्सले सरकारलाई प्रतिबन्ध खोल्न अनुरोध गर्दै आएको छ।

टिकटकले पठाएको पछिल्लो पत्रको बोधार्थ नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयमा पनि पठाइएको छ। तर प्रतिबन्ध खोल्न नेपालले प्रस्ताव गरेका केही सर्तहरू कार्यान्वयनको सुनिश्चितता दिलाउन नसकेका कारण टिकटकको अनुरोध तत्काल स्वीकार गर्न नसकिने अधिकारीहरूले बताएका छन्।

नेपाल सरकारले राखेका सर्तहरू पालना गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसको व्यावहारिक कार्यान्वयनबारे ठोस जबाफ दिन नसकेका कारण प्रतिबन्ध खोल्ने प्रक्रिया अघि नबढेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

“हाम्रा केही चासोहरू छन्। सामाजिक सद्भाव बिथोल्ने, सार्वभौमसत्तासँग जोडिएका, सामाजिक सुरक्षासँग जोडिएका, कानुनविपरीतका गतिविधिबारेका चासोहरूलाई व्यावहारिक रूपमा कसरी सम्बोधन हुन्छ भनेर नेपाल सरकारले सुनिश्चित गर्न चाहेको छ,” आचार्य भन्छन्।

टिकटकले पठाएको पछिल्लो पत्रमा छ पटक पत्र पठाउँदा समेत नेपालले जबाफ नदिएको गुनासो गरिएको छ। “हाम्रो प्रतिबद्धता र नेपालमा टिकटकमाथिको प्रतिबद्धता खुलाउन गरिएको बारम्बारको अनुरोधका बावजुद हामीले नेपालबाट कुनै प्रतिक्रिया पाएका छैनौँ,” बीबीसी न्यूज नेपालीलाई प्राप्त पत्रको विवरणमा भनिएको छ।

“महामहिमज्यू, विगत आठ महिनामा हामीले बजारबारे हाम्रो प्रतिबद्धता जनाउँदै छ वटा पत्रहरू पठाएका छौँ। नेपाल सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धताका बावजुद समाधान खोज्ने हाम्रो प्रस्तावलाई बेवास्ता गरिनु दुःखद छ,” टिकटकले आफ्नो पत्रमा भनेको छ।