टिओआर टुंग्याउन बसेको बालुवाटार बैठक निष्कर्षविहीन

टिओआर टुंग्याउन बसेको बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर) टुंग्याउन बसेको सत्ता र प्रतिपक्षी दलहरूको बैठक निष्कर्षविहीन भएको छ। टिओआरमा सहमति जुटे सदनको गतिरोध पनि हट्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै पक्षसँग सोमबार छुट्टाछुट्टै र संयुक्त रूपमा छलफल गरेका थिए। 

कांग्रेस आफ्नो अडानबाट पछि नहट्दा सहमति हुन नसकेको बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए। पछिल्लो उसका गतिविधिबाट कांग्रेस सहमतिमा आउनै चाहेको छैन भन्ने देखिएको उनले बताए। 

विपक्षी दलहरूले कार्यादेशमै सहकारी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्रीको नाम किटेर जानुपर्ने माग राखेका छन् भने त्यसका लागि सत्तारूढ दलहरू तयार छैनन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरू उठेका छन्। सहमति नभएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन कांग्रेसले दिउँसो १ बजे बैठक बोलाएको छ।