रुपन्देही । केही समययता रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा बढेका वेथिति लगातार बाहिर आइरहेका छन् । चिकित्सक भएको बताउँदै भारतीय नागरिकले गर्ने उपचार, म्याद गुज्रेका औषधि बिक्री, औषधि पसलबाट नै लागूपदार्थ सेवनकर्तालाई समान सप्लाई केही दिनयता सार्वजनिक भएका घटनाहरु हुन् ।
६० किलोमिटर खुला सिमाना भएको रुपन्देहीमा उताबाट आएर अवैध तरिकाले यस्ता कारोबार गर्ने र भाग्ने घटनाहरु धेरैपटक भएपनि स्थायी रुपमै यहीँ बसेर यस्ता गतिविधि गर्दा पनि स्थानीय सरकार, स्थानीय प्रशासन तथा नागरिक समाजले उतीहरुमाथि प्रश्न उठाउन सकेका छैनन् । औषधिजस्तो गम्भीर विषयमा बिनाचेकजाँच घरघरमा पुगेर सर्वसाधारणलाई बिक्रीवितरण गर्ने काम अहिले पनि भइरहेको छ ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । आफू चिकित्सक भएको बताउँदै नेपालमा दर्ताविनै स्वास्थ्य क्लिनिक संचालन गरिरहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतसँगको सीमावर्ती क्षेत्र रुपन्देहीको मर्चवारी गाउँपालिका–३ सेमरहवामा नैना हेल्थ क्लिनिक पसल संचालन गरी शल्यक्रियासमेत गर्ने गरेका नागन्द्र मिश्रा नामका भारतीय नागरीकलाई बुधवार रुपन्देही प्रशासनले नियन्त्रणमा लिएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमन र छानबिन पश्चात् उनलाई नियन्त्रणमा लिइएको हो । स्थलगत अनुगमन टोलीका अनुसार स्थानीय पूर्णकुमारी बरईको नाममा कर कार्यालयमा प्यान नम्बर दर्ता रहे पनि अन्य कुनैपनि निकायमा उक्त क्लिनिक दर्ता छैन ।
अनुगमन टोली पुग्दा एक वृद्धको शल्यक्रिया गरिरहेको अवस्थामा फेला परेका मिश्राले आफू भारतीय नगारिक रहेको र फार्मेसी अध्ययन गरेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले पूर्व सूचनाअनुसार उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए ।
उनले भने, ‘ क्लिनिकमा फार्मेसी पढेको भारतीय नागरिकले शल्यक्रियासमेत गरेर बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको सूचना आएको थियो, स्थलगत छानबिनपश्चात् ‘यस बारेमा थप अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन भारतीय नागरीक मिश्रालाई नियन्त्रणमा लिइएको हो ।’
मिश्राले उपचार गरेका अन्य विरामीहरुसँग बुझ्ने र यसमा अरुकोपनि संलग्नता भएरनभएको बारेमा छानबिन गरिने अर्यालले बताए । स्थलगत अनुगमन टोलीले उक्त क्लिनिकमा शिलबन्दी गरेको छ । तीन वर्षभन्दा धेरै समयदेखि संचालनमा रहेको उक्त क्लिनिकमा पायल्स, हर्निया, पत्थरी लगायतको शल्यक्रिया हुने गरेको थियो । पक्राउ परेका मिश्रामाथि थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ ।