मलेसियाबाट यूएई पुगे जीबी राई, राहदानी रद्द गर्न प्रहरीले गर्‍यो पत्राचार

मलेसियाबाट यूएई पुगे जीबी राई, राहदानी रद्द गर्न प्रहरीले गर्‍यो पत्राचार

पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारी ठगीका मुख्य आरोपी जीबी भनिने गितेन्द्रबाबु राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार जीबीको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र राहदानी विभागलाई पठाइसकिएको छ।

यसअघि मलेसियामा रहेका जीबी संयुक्त अरब इमिरेट्स (युएई) पुगेको सूचना प्राप्त भएपछि राहदानी नै रद्द गर्न लागिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। त्यसअघि उनी सिंगापुर पनि गएका थिए। मलेसियाबाट सिंगापुर जान भने भिसा आवश्यक पर्दैन। 

तर उनी करिब १० दिन पहिले युएई गएको सूचना आएको प्रहरी उच्च स्रोतले बताएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी दानबहादुर कार्कीले जीबी राईका सम्बन्धमा पहिलेदेखि नै लोकेट गर्ने र इन्टरपोलमार्फत ल्याउने प्रयास भइरहेको बताए। 

उनीविरुद्ध यसअघि नै इन्टरपोलबाट डिफ्युजन र रेड नोटिस जारी भइसकेको छ। अर्बौं ठगी गरेर भागेका जीबीलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भइरहेको छ।