भारतको एयरटेलले रोक्यो सेवा, नेपालको ८० प्रतिशत इन्टरनेट बन्द

भारतको एयरटेलले रोक्यो सेवा, नेपालको ८० प्रतिशत इन्टरनेट बन्द

काठमाडौं । भारतको दूरसञ्चार कम्पनी एयरटेलले नेपालका इन्टरनेट सेवा प्रदायकलाई दिँदै आएको व्यान्डविथ आपूर्ति रोकेपछि नेपालमा धेरैजसो इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानका एक अधिकारीले एयरटेलले व्यान्डविथ आपूर्ति रोकेको पुष्टि गरे । बिहीबार दिउँसोदेखि नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको छ ।

यससँगै वर्ल्डलिंक, भायानेट, सुबिसुलगायत इन्टरनेट सेवा प्रदायकको इन्टरनेट स्लो हुने तथा चल्दै नचल्ने समस्या देखिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ आयात गरेबापत भारतीय कम्पनीलाई तिर्नुपर्ने रकम तिर्न सिफारिस गरेको छैन । यसो हुँदा उनीहरूले भारतीय कम्पनीलाई भुक्तानी गर्न सकेका छैनन् ।

सरकारलाई बक्यौता नतिरेको भन्दै सञ्चार मन्त्रालयले विदेशी मुद्रा सिफारिस नगरिदिएको हो ।