कोशी प्रदेशमा परिमार्जित संकल्प प्रस्ताव पारित, मुख्यमन्त्री कार्की अफ्यारोमा

कोशी प्रदेशमा परिमार्जित संकल्प प्रस्ताव पारित, मुख्यमन्त्री कार्की अफ्यारोमा

विराटनगर । कोशी प्रदेशसभाको बैठकमा पेस भएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको परिमार्जित संकल्प प्रस्ताव पारित भएको छ । 

शुक्रबार बसेको बैठकमा एमालेको संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संकल्प प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सभामुख अमरबहादुर बिष्टले प्रस्ताव फिर्ता लिन समय दिए पनि फिर्ता नगरेपछि निर्णयार्थ प्रस्तुत गरे । यसअघि प्रस्तावमाथि छलफल भई मुख्यमन्त्री केदार कार्कीले उठेका विषयमा जवाफ दिएका थिए । 

बैठकमा एमाले प्रमुख सचेतक भण्डारीले सरकारलाई दिएको समर्थन फिर्ता भइसकेको भन्दै मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने दाबी गरे । भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव सदनमा पेस भएको हो ।  

प्रस्ताव पारित भइसकेपछि कति सांसदले समर्थनमा मतदान दिए भनि मत विभाजन गर्न सभामुखसमक्ष एमाले प्रमुख सचेतक भण्डारीले माग गरेका थिए । 

कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले एमाले र माओवादी संसदको मत विभाजनको मागमा पुर्नविचार गर्न सभामुखसमक्ष माग गरे । प्रदेशसभा सञ्चालनको नियमावलीअनुसार १० प्रतिशत माननीयले मत विभाजनको प्रस्ताव राख्न सक्ने प्रावधान छ ।

जसको मत पास भयो उसैले मतगणनाको माग गर्न मिल्दैन भन्दै एकीकृत समाजवादी कोशी संसदीय दलका नेता राजेन्द्र राईले यकिन गर्न सभासमक्ष आग्रह गरे । तर, गणना गर्न सभामुख अमरबहादुर विष्टले निर्देशन दिए । यसको पक्षमा ५२ सांसद रहेको, विपक्षी नउठेको र र मत दिन्नौँ भन्ने तीन सांसदको मत विभाजन भएको जानकारी गराइ विष्टले संकल्प प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।