बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?

बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र निक्षेपको वृद्धि भन्दा कर्जाको वृद्धि लगातार न्यून भएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् ।

गत असार मसान्तसम्म निक्षेपको ब्याजदरमा भद्र सहमति कायम गरेका बैंकहरुले साउनदेखि उक्त सहमति खारेज गर्दै आफ्नो रणनीति अनुसार ब्याजदर प्रकाशित गर्दै आएका छन् ।

बैंकहरुले अधिक तरलता भएर ३ प्रतिशत ब्याजदरमा नेपाल राष्ट्र बैंकमा निक्षेप राख्नुपर्ने तर कर्जाको माग तत्काल बढ्ने अवस्था नभएपछि निक्षेपको ब्याजदर घटाएर कोषको लागत घटाउने रणनीति लिएका छन् ।

कोषको लागत घट्दा आधार दर घटेर कर्जाको ब्याजदर घट्दा ऋणीलाई राहत हुन्छ । त्यस्तै बैंकहरुले लगानी गर्न नसकेको तरलताको समेत लागत घट्न जान्छ । कर्जाको माग तत्काल नबढ्ने अवस्था र धेरै बैंकहरुको पूँजीकोषमा देखिएको दबाबले एग्रेसिभ कर्जा विस्तार गर्ने अवस्था नहुँदा ब्याजदर घटाएको एक बैंकरले बताए । सञ्चालनमा रहेका २० मध्ये १८ वटा वाणिज्य बैंकले माघका लागि व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा घटाएका छन् ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा हुन नहुने व्यवस्था गरेको छ । यस्तै कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । बैंकहरुलाई व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् ।

राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।

‘बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदरको औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन्,’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको ब्याजदर सम्बन्धी व्यवस्थामा भनिएको छ ।

यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उक्त निर्देशनले तोकेको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतम मध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही सीमाभित्र रहेर वाणिज्य बैंकहरुले माघको ब्याजदर प्रकशित गरेका हुन । माघमा एनएमबि बैक र एभरेष्ट बैंकले पुसको ब्याजदर यथावत राखेका छन् । बैंकहरुले निक्षेपको अवधि अनुसार ब्याजदरलाई विविधिकरण गर्दै प्रकाशित गरेका छन् । माघमा सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले दिने भएको छ । बैंकले २ देखि १५ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ७.२६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यस्तै एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ प्रतिशत यथावत राख्दै अन्य व्याजदर प्रकाशित गरेको हो । ५ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याजदर पाइने बैंकले जनाएको छ । एनएमबि बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पुसकै ९ प्रतिशतलाई माघमा पनि निरन्तरता दिएको छ । ३ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा मात्रै उक्त ब्याजदर पाइने बैंकले जनाएको छ ।

माघमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर सिटिजन्स बैंकको छ । बैंकले ५ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ९.१५ प्रतिशत ब्याजदर दिने भएको हो । पुसमा ९.३५ प्रतिशतको ब्याजदर बैंकले माघमा घटाएको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ३ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ८.६० प्रतिशत ब्याजदर दिने भएको हो । नेपाल एसबिआई बैंकले १ वर्ष माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत ब्याजदर दिने भएको छ । हिमालयन र सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.१५ प्रतिशत ब्याजदर प्रकाशित गरेका हुन् । दुवै बैंकले १ वर्षभन्दा माथिको निक्षेपमा उक्त ब्याजदर दिने भएका हुन् । कुमारी बैंकले ५ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ८।११ प्रतिशत, प्राइम कमर्सियल बैंकले पुसमा १० प्रतिशत रहको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ८.१० प्रतिशतमा झारेको छ । बैंकले १० वर्षभन्दामाथिको निक्षेपमा उक्त ब्याजदर प्रकाशित गरेको हो ।

सिद्धार्थ, ग्लोबल आईएमई र नबिल बैंकले पनि ८.१० प्रतिशत ब्याजदर नै प्रकाशित गरेका छन् । सिद्धार्थ बैंकले १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा, ग्लोबल आईएमई बैंकले १ देखि १० वर्षको व्यक्तिगत मुद्दती निक्षेपमा र नबिल बैंकले १ देखि ५ वर्षको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त व्याजदर प्रकाशित गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८।०७ प्रतिशत ब्याजदर दिने भएका हुन् । राष्ट्रिय वाणिज्य बैंकले २ वर्ष वा त्यसभन्दा बढी अवधिको र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ वर्षभन्दा बढीको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर दिने भएको हो । पुससम्म छोटो अवधिको निक्षेपमा बढी ब्याजदर राखेको बैंकले माघमा छोटो अवधिको ब्याजदर घटाएर लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

प्रभु र एनआईसी एशिया बैंकले ८.०६५ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । प्रभुले ६ महिनाभन्दा बढी अवधिको र एनआईसी एशियाले २ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर दिने भएका हुन् ।

माछापुच्छ्रे, लक्ष्मी सनराइज र नेपाल बैंकले ८ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । माछापुच्छ्रेले १ वर्षभन्दा माथिको, लक्ष्मी सनराइजले २ वर्षभन्दा माथिको र नेपाल बैंकले ३ महिनाभन्दा माथिको सबै व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर दिने भएका हुन् ।