शहीद स्मारक ए डिभिजन लिग : जावलाखेल र पुलिस तथा मनाङ र थ्रीस्टार भिड्दै

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार २ खेल हुँदैछन् । पहिलो खेलमा जावलाखेल र विभागीय क्लब नेपाल पुलिस मध्याह्न १२ बजे आमने सामने हुने छन् । यी दुई बिचको खेलएन्फा मैदान सातदोवाटोमा हुने छ । जावलाखेल जारी लिगमा पाँचौं स्थानमा छ भने पुलिस सातौं स्थानमा छ । शनिबारको खेलमा पुलिस विजयी भए पाँचौं स्थानमा उक्ल्ने छ भने जावलाखेल विजयी भए चौंथो स्थानमा पुग्ने छ ।

प्रतियोगिता अन्तर्गत शनिबार दिउँसो ३ बजे मनाङ मर्स्याङ्दी र थ्रीस्टार दशरथ रंगशालामा आमने सामने हुँदैछन् । मनाङ तेस्रो र थ्रीस्टार चौथो स्थानमा रहे पनि यी दुई टिमको अंक अन्तर भने २ रहेको छ । शनिबारको खेलमा मनाङ विजयी भए शीर्षस्थानमा पुग्ने छ भने थ्रीस्टार विजयी भए शीर्ष स्थानको त्रिभुवन आर्मीसँग अंक बराबरी गर्ने छ ।

आर्मी १३ अंकका साथ शीर्ष स्थानमा रहँदा मछिन्द्र पनि समान १३ अंकका साथ दोस्रो स्थानमा छ ।सातौं र आठौं चरणका खेलहरु दशरथ रंगशालामा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक भए पनि लगातारको वर्षाका कारण केही खेलहरु एन्फा मैदान सातदोवाटोमा पनि सारिएका छन् ।