काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको बताएका छन् ।
शनिबार दिउँसो माओवादी केन्द्रको बुढानिलकण्ठको नगर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जसचाहिँ अरुहरुले लिएको बताए ।
उनले भने, ‘‘देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरु हाम्रै पालामा भएका छन्। मैले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु। तर, हामीले आफूले गरेका कामको जस लिन सकिरहेका छैनौं। विरोधीले पीठो बेचिरहेका छन्, हामी चामल बेच्न पनि सकेनौं।’प्रधानमन्त्रीले आफ्नो तीन वटै कार्यकालमा महत्वपूर्ण कामहरु भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताए ।
सम्मेलनमा प्रधानमन्त्रीले तीन महिने अभियानले जनआधारमा सुदृढ हुँदै गएको भन्दै फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढङ्गले विचार संश्लेषण गरिने जानकारी दिए।