काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले सन् २०२४ मा गर्ने भनिएको भरतपुर भ्रमण वर्ष स्थगित भएको छ । महानगरपालिकाको आज शुक्रबार बसेको कार्यपालिका बैठकले तत्कालका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो । तयारी नपुगेको, मुख्य सडकहरुको पूर्वाधार निर्माणको काम नसकिएकोले हाललाई भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरिएको हो ।
भ्रमण वर्ष सन् २०२४ मै गर्ने तर कहिलेदेखि औपचारिक रुपमा सुरु गर्ने भन्ने बारेमा आगामी नगरपरिषद्ले निर्णय लिने महानगर स्रोतले जनाएको छ । नारायणगढ गोन्द्राग सडकखण्ड विस्तारको काम नसकिएको, मुग्लिन नारायणणढ सडकखण्ड पनि दिउँसो ४ घण्टा बन्द गर्ने तयारी गरिएको तथा महानगरकै पनि आफ्नो तयारी पूरा नभएकोले भ्रमण वर्ष हाललाई स्थगित गरिएको हो ।
महानगरपालिकाले पुस १४ गते अर्थात जनवरी १ तारिकको दिनमा भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गरेको थियो । नारायणी नदी किनारमा भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम थियो । सुरुमा २०८० सालमा गर्ने निर्णय गरे पनि तयारी नपुगेको भन्दै अंग्रेजी नयाँ वर्ष सन् २०२४ बाट सुरु गर्ने निर्णय यसअघि महानगरले गरेको थियो ।