पशुपालक कृषकको पीडा : दुध उत्पादनसम्मको खर्च नगदमा, बिक्री उधारोमा

देशभर ३० लाख दुध उत्पादक किसान छन् । यसमध्ये अधिकांश किसानले दुधको रकम पाउन सकेका छैनन्

पशुपालक कृषकको पीडा : दुध उत्पादनसम्मको खर्च नगदमा, बिक्री उधारोमा

काठमाडौं । तनहुँको एक दुध बिक्री सहकारीमा एक सय जना किसान आवद्ध छन् । करिब ६० किसानले बजारमा दैनिक दुध पुर्याएका छन् तर उधारोमा । गाई–भैंसी पाल्न आवश्यक पर्ने दाना, औषधि लगायत नगदमा खरिद गर्नुपर्ने तर दुध उधारोमा बेच्नुपर्ने बाध्यता रहेको तनहुँका गाई पालक किसान हिरा बहादुर सापकोटाले बताए ।

‘किसानलाई समस्या छ,’ उनी भन्छन्, ‘दाना, औषधिहरु नगदमा खरिद गर्नुपर्छ तर दुध उधारोमा बिक्री गरिरहेका छौँ ।’ असोज यता यहाँका किसानले दुध बिक्री गरे बापतको रकम पाउन नसकेको सापकोटाले बताए । उनले मात्रै दुध बिक्रीबापतको करिब ३ लाख रुपैयाँ पाउन बाँकी छ । सापकोटाका अनुसार सो क्षेत्रका किसानले दुई सयदेखि साढे दुई सय गाई÷भैँसी पालेका छन् । उनीहरुले दुध बिक्री बापत करिब ४० लाख रकम भुक्तानी पाउन बाँकी छ ।

देशभरका किसानले दाना, औषधि लगायत दुध उत्पादनका लागि आवश्यक पर्ने पदार्थ नगद खरिद गरे पनि दुध उधारोमा बिक्री गर्न बाध्य भएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका पशु चिकित्सक डा. प्रकाश अधिकारीले बताए । ‘देशभरका किसानले दुध उत्पादनमा नगद लगानी गरेका छन्,’ उनले भने, ‘तर दुध उधारोमा बिक्री गर्न बाध्या छन् ।’

देशभर ३० लाख दुध उत्पादक किसान छन् । यसमध्ये अधिकांश किसानले दुधको रकम पाउन नसकेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले बताए । उनका अनुसार दुईदेखि तीन महिना यता दुधको रकम भुक्तानी हुन सकेको छैन ।