आलु–प्याजमा लाग्ने भनिएको भ्याटबारे आन्तरिक राजस्व विभागले गर्यो यस्तो निर्णय

आलु–प्याजमा लाग्ने भनिएको भ्याटबारे आन्तरिक राजस्व विभागले गर्यो यस्तो निर्णय

काठमाडौँ । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै थोक व्यवसायीले चार दिनदेखि हड्ताल गर्दै आएका छन् । आज विभागले एक विज्ञप्ति निकालेर आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा भ्याट नलाग्ने भन्दै आपूर्ति असहज बनाएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा। प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने घोषणा गरेका थिए । आलु र प्याजको भ्याट विवादले आयात र बिक्री बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् ।

व्यवसायीले सरकारले स्वदेशी उत्पादनमा समेत भ्याट लगाएको दाबी गरेका छन् । आयातकर्ता नै हड्तालमा उत्रिएपछि कालीमाटी फलफूल तथा तरकारी बजारमा अहिले आलु र प्याज भित्रिएको छैन । नेपालमा देशभित्र उत्पादन भएको बाहेक भारतबाट प्याज र बंगलादेशबाट आलु आयात हुन्छ ।

यसैबीच भारत सरकारले प्याजको निर्यातमा लगाएको पूर्ण प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो ।

भारतको वाणिज्य एवम् उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सन् २०२४ को मार्च ३१ तारिखसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको जनाएको छ ।