शहीद स्मारक ए डिभिजन लिग फुटबल : सातौं चरणको पहिलो खेलमा मच्छिन्द्र र हिमालयन शेर्पा भिड्दै

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सातौँ चरणको खेल सुरु हुँदैछ ।आज पहिलो दिन एउटा मात्रै खेल हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । दिउँसो ३ बजेपछि सातदोबाटोको एन्फा कम्प्लेक्समा हुने खेलमा शीर्ष स्थानको मच्छिन्द्र क्लब र पुछारबाट दोस्रो स्थानमा रहेको हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै छ ।

दशरथ रंगशालमा खेल हुने भनिए पनि वर्षाका कारण खेलस्थल सारिएको एन्फाले जनाएको छ ।छैटौँ चरण पछि पहिलो पटक शीर्ष स्थानमा उक्लेको मछिन्द्रलाई अंक दूरी बढाउने मौका छ । ६ खेलबाट मछिन्द्रसँगै त्रिभुवन आर्मीको पनि समान १३ अंक छ ।

तर, गोलअन्तरमा मछिन्द्र अगाडि छ । त्यसैले शेर्पालाई हराउन सके मछिन्द्रले ३ अंकको अग्रता बनाउनेछ ।यस सिजनमा अपराजित दुईमध्ये एक मछिन्द्रले ४ खेलमा जित र २ खेल बराबरी गरेको थियो । उता यस लिगमा सबैभन्दा धेरै ४ बराबरी खेलेको शेर्पाको जम्मा ४ अंक मात्र छ भने अझै जितविहीन छ । ६ मध्ये ४ खेल बराबरी गर्दा शेर्पाले २ खेल हारेको थियो ।शेर्पा पहिलो जितको खोजीमा छ ।