सुनचाँदी तस्करीको आशंकामा पशुपति ज्वेलर्समा छापा, एक क्वीन्टल चाँदीसहित सञ्चालक पक्राउ

सुनचाँदी तस्करीको आशंकामा पशुपति ज्वेलर्समा छापा, एक क्वीन्टल चाँदीसहित सञ्चालक पक्राउ

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्समा सरकारी टोलीले छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद गरेको छ । तिहारको धन्तेरसमा बिक्री गर्नका लागि  भारतबाट तस्करी गरी २०० किलो सुनचाँदीका गहना विराटनगर  भित्राएको सूचनापछि प्रहरी, प्रशासन, भन्सार र आन्तरिक राजस्व कार्यालयको संयुक्त टोलीले विहीबार छापा मारेको थियो । भारतीय  नागरिक विश्वजित जानाले सञ्चालन गरेको  ज्वेलर्सबाट एक सय किलो मात्रै बरामद भएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । बिहीबार दिउँसो पसलबाट बरामद भएको गहना राति अबेर मात्रै जोखेर सकिएको थियो ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालका अनुसार रसायनसहित तौल लिँदा चाँदीका सामग्री तथा गहना ९९.९४६ किलोग्राम थियो ।  सुनका गहना १५३.८ ग्राम रहेको उनले बताए । काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला परेको थियो । दाहालका अनुसार बरामद भएको सबै मालवस्तु राष्ट्र बैंकले गालेर परिणाम यकिन गर्नेछ ।

भारतको पश्चिम बंगालको मजलिसपुर घर भएकाले विराटनगर–११ पिचरा रोडमा पशुपति ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । ज्वलेर्समा छापा मारेको सरकारी टोलीले चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, करुवा, लोटा, मूर्ति, टीकादानी, प्लेट, माला, बाला, हातको पञ्जा, कम्मरपेटी, सिक्का, रिङ, लकेटलगायतका सामग्री छन् । सुनको मंगलसूत्र, चन्द्रमा, तिलहरी, टप, नेकलेस पनि छन् ।

ज्वेलर्समा छापा हान्दा बिल बिजक फेला नपरेपछि चाँदी तथा सुनका सामग्री र गरगहना बरामद गरिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक विश्वनाथ जानालाई पक्राउ गरी अनुसन्धान सुरु  गरेको उनले बताए । भारतीय नागरिक विश्वनाथ जानाले भारतबाट भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै ज्वेलर्समा राखेर विराटनगर, इनरुवा, धरान, इटहरी, विराटचोक, उर्लाबारीलगायत स्थानका पसललाई सप्लाई गर्ने गरेको प्रहरीको दाबी छ ।