१० प्रतिशतले घटे कृषिका लागि ऋण लिने कृषक

१० प्रतिशतले घटे कृषिका लागि ऋण लिने कृषक

काठमाडौं । नेपालका किसानले कृषिका लागि लिएको ऋण १० प्रतिशतले घटेको छ । पछिल्लो १० वर्षमा सहकारी, बैंक लगायतबाट ऋण लिएर कृषिमा लगानी गरेका किसानहरुको कुल ऋण १० प्रतिशतल नै घटेको कृषि गणनाले देखाएको हो ।

गत महिना सार्वजनिक भएको कृषि गणनाको तथ्याङ्कअनुसार वि.सं.२०७८ मा ४ लाख ८३ हजार कृषक परिवारले कृषिका लागि ऋण लिएका छन् । जुन कुल कृषि परिवार संख्याको १२ प्रतशत हो । २०६८ सालमा यस्तो शीर्षकमा ऋण लिन कृषकको परिवार संख्या ८ लाख ३६ हजार थियो । जुन कुल कृषक संख्याको २२ प्रतिशत थियो ।

विवरण अनुसार किसानहरुले लिने ऋणको तरिका पनि बदलिएको छ । २०६८ सालसम्ममा कुल कृषक ऋणको ३५ प्रतिशत रकम आफन्तबाट सावटीका रुपमा लिने गरिएको थियो । तर, २०७८ मा आइपुग्दा किसानहरुले लिएको ऋणको ३९ प्रतिशत हिस्सा सहकारीमा देखिएको छ ।

तथ्याङ्कअनुसार ऋण लिएकामध्ये पनि थप ऋण आवश्यक रहेको बताउने कृषक संख्या १४ लाख १५ हजार रहेका छन् । जुन कुल परिवार संख्याको ३४ प्रतिशत हो । यसरी ऋण चाहिन्छ भन्ने कृषकको समूह पशुपन्छी पालनमा धेरै रहेको पनि तथ्याङ्क छ ।