राजस्वमा ४३ प्रतिशत बढी योगदान पुर्याउने वीरगञ्ज भन्सारको राजस्व संकलन घट्दै

राजस्वमा ४३ प्रतिशत बढी योगदान पुर्याउने वीरगञ्ज भन्सारको राजस्व संकलन घट्दै

काठमाडौं । राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन क्रमिक रुपमा घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व संकलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व संकलन गरेको जनाएको छ ।

चालु आवको साउनका लागि भन्सार विभागले १५ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा ३ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ कम राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । उनका अनुसार भदौका लागि विभागले १९ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा १२ अर्ब ७१ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने पेट्रोलियम पदार्थ, वाहनलगायतका २० वस्तुको आयातबाट संकलन हुने राजस्व घट्दै गएको ढकालले बताए । उनले मुख्य २० वस्तुबाट संकलन हुने राजस्व गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा ५३ प्रतिशत कम संकलन भएको छ भने भदौमा गत आवको सोही महिनाको तुलनामा ६२ प्रतिशत कम भएको जानकारी दिए ।

वीरगञ्ज भन्सार कार्यालयलाई इन्धन र वाहनको आयातबाटबाट मात्र ४० प्रतिशतभन्दा बढी राजस्व संकलन हुने गरेको भन्दै ढकालले दुवै वस्तुको आयात घट्दै गएकाले रावस्व संकलनको लक्ष्य हासिल गर्न नसकिएको बताए । उनले वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि आयात हुने इन्धनबाट संकलित हुने राजस्व गत आवको तुलनामा ११ प्रतिशत र वाहनबाट संकलन हुने राजस्वमा १० प्रतिशतले कमी आएको बताए ।