बझाङ भूकम्प : २४ घण्टा मै एक दर्जन बढी धक्का, त्रासमा स्थानीय

बझाङ भूकम्प : २४ घण्टा मै एक दर्जन बढी धक्का, त्रासमा स्थानीय

काठमाडौं । बझाङका भूकम्प पीडितहरुले खुला आकासमा रात बिताएका छन् । राति र आज बिहान पनि साना धक्का गइरहेकाले उनीहरु घर फर्किन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भूकम्पपछि कोही पनि घरमा बस्न नसकेको बताए । 

कोहीले बुधबार नेपाल रेडक्रसले उपलब्ध गराएको ४० वटा त्रिपाल मुनि र कोहीले आफ्नै व्यवस्था गरेर रात काटेका छन् । मंगलबार दिउँसो २ः४० बजे बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १० पटकसम्म भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरको विवरणमा उल्लेख छ । ती कम्पनहरु ५ देखि ४ म्याग्निच्युडसम्मका छन् । एक महिला वेपत्ता, जिल्ला विपत व्यवस्थापन समितिको बैठक बोलाइयो । 

प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार बुधबार बिहानसम्म भूकम्पबाट १३ जना घाइते भएको र एकजना बेपत्ता भएको विवरण प्राप्त भएको छ । घाइतेहरुमध्ये दुई जना अस्पतालमै भर्ना भएका छन् भने ११ जना सामान्य उपचारपछि फर्किएका छन् । एकजना महिला भने अझै पनि बेपत्ता छिन् । जयपृथ्वी नगरपालिका–११ ओखल घर भएकी अन्दाजी ४०/४५ वर्षीया गुनमती धामीको अवस्था थाहा हुन नसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए । उनी टिमुर टिप्न भन्दै जंगल गएकी थिइन् । त्यहीबेला माथिबाट खसेको पहिरोमा उनी परेकी थिइन् । उनको खोजतलासका लागि सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रारम्भिक विवरण अनुसार भूकम्प र परकम्पले सदरमुकाम चैनपुरसहितका स्थानमा घर र अन्य भौतिक संरचनामा क्षति पुगेको छ । निजी, सरकारी र सार्वजनिक भवनहरु कुनै भत्किएका र कुनै चिरैचिररा परेकाले जोखिमयुक्त छन् । अघिल्ला धक्काले कमजोर बनेका घरहरु पटक–पटक आइरहेका परकम्पले कुनै पनि बेला भत्किनसक्ने जोखिम भएकाले घरमा नबस्न प्रशासनले आह्वान गरेको छ । प्रभावितहरुलाई नेपाल विद्युत प्राधिकरणको चौर, जिल्ला प्रशासनको प्रांगण, टुँडिखेल र विद्यालयका चौरहरुमा राखिएको छ ।