मेयर दाहालले भनिन् :‘गौतमबुद्ध क्रिकेट रंगशाला बन्छ हाम्रै पालामा ’

मेयर दाहालले भनिन् :‘गौतमबुद्ध क्रिकेट रंगशाला बन्छ हाम्रै पालामा ’

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले ‘ढुक्क हुनुस् रंगशाला बन्छ,’ भनेर ६ महिना अगाडि फेसबुकमा स्टाटस लेखेकी थिइन् ।

त्यसको केही दिनपछि अर्को स्टाटसमा उनले लेखेकी थिइन्, ‘अथक प्रयासपछि हामी सबैको सपना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कार्य पुरा हुँदै । बधाई छ, चितवनबासीलगायत सम्पूर्ण खेलाडीहरूमा । साथै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू एवं नेपाल सरकारलाई हार्दिक धन्यवाद ।’

मन्त्रिपरिषदले रंगशालाको स्वामित्व लिएर निर्माण कार्य अघि बढाउने निर्णय गरेपश्चात दाहालको यो उत्साही स्टाटस आएको थियो । उनका यी दुवै स्टाटस अहिले सामाजिक सञ्जालमा भाइरल छन् । धेरैले उनलाई ट्याग गरेर प्रश्न गरिरहेका छन्, ‘खुशीको खबर खोई ?’

अत्यधिक प्रश्न उठेपछि मेयर दाहालले आज एक सार्वजनिक कार्यक्रममा आफ्नो प्रष्टीकरण दिएकी छन् । उनले रंगशाला बन्नेमा ढुक्क हुन फेरि एकपटक आग्रह गरिन् ।

धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरको सहकार्यमा निर्माण थालिएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला आर्थिक अभावका कारण अलपत्र परिरहेको छ । फाउन्डेसनबाट रंगशालाको स्वामित्व लिए पनि महानगरले निर्माण सुचारु गर्न सकेको छैन । महागनरले रंगशाला निर्माणका क्रममा लागेको ऋण फरफारक गर्न नसक्दा थप काम अगाडि बढाउन नसकेको हो ।

संघीय सरकारले उधारो फरकफारकका लागि १२ करोड रूपैयाँ महानगरलाई निकासा पनि गरेको थियो । मन्त्रिपरिषदको निर्णयपश्चात अर्थ मन्त्रालयले निकासा गरेको रकम महानगरले अर्थमै फिर्ता पठाइदियो । मेयर दाहालले ऋण तिर्नका लागि समय कम भएकाले सरकारबाट आएको १२ करोड फिर्ता गरिएको बताइन् । अब फेरि मन्त्रिपरिषदले निर्णय गरेर पैसा पठाउने उनको दाबी छ ।

ठूलो लागतको परियोजना भएकाले एकैपटक बजेट छुट्याएर रंगशाला निर्माणलाई पूर्णता दिन नसकिने दाहालले बताइन् । बागमती प्रदेश सरकार र महानगरको सहकार्यमा चरणबद्धरुपले रंगशालाको काम अघि बढाइने उनको भनाइ थियो ।

‘ढुक्क हुनुस्, भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ । केही दिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ,’ उनले फेसबुकमा लेखेकी थिइन् । तर, अहिलेसम्म त्यस्तो ‘खुशीको खबर’ केही आएको छैन ।

यस्तो छ महानगर प्रमुख दाहालको भाषणः
‘गौतमबुद्ध क्रिकेट रंगशाला के हुन्छ ? मेयरले केही महिना अगाडि ढुक्क हुनुस् बन्छ भन्नुभएको थियो । त्यसको स्क्रिनसट गरेर मलाई ट्याग गरेर धेरैले खबरदारी गर्नुभएको छ । म आज यही कार्यक्रममको सन्दर्भमा महानगरपालिको तर्फबाट भन्न चाहन्छु कि गौतमबुद्ध क्रिकेट रंगशाला बन्छ हाम्रै पालामा । हामी बनाउछौं । यो कुरा फेरि म सम्पूर्ण जनसमूदायलाई ढुक्क हुन अनुरोध गर्छु ।

हामीलाई चुनौती भनेको ठूलो आकारको ऋण हो । नेपाल सरकारले ऋण तिर्ने भनेर पहिले सम्झौता नभएको कारणले हामीलाई अलिकति मुस्किल त्यहाँनेर भएको थियो । तर, पनि नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेर हामीलाई बजेट पनि पठाएको हो । गत आर्थिक वर्षको अन्त्यमा १२ करोड रूपैयाँ ऋण तिर्न भनेर आएको थियो । तर, हामीलाई समय कम भयो । ऋण एकिन गर्नुपर्ने, ऋण तिर्नुपर्ने मान्छेलाई आह्वान गर्नुपर्ने, भर्पाइ गर्नुपर्ने, भुक्तानी गर्नुपर्ने कामहरू थिए । तर, समय एक हप्ता पनि नहुँदा हामीले भ्याएनौं र आएको पैसा फिर्ता पठाइदियौं ।

सायद भोलि क्याबिनेटबाट निर्णय भएर ऋण तिर्न फेरि बजेट आउँछ । सरकारी प्रक्रिया पूरा गरेर ऋण तिर्ने व्यवस्था गर्नेछौं । निर्माणको कुरा के हुन्छ भन्ने पनि खबरदारी छ । अहिलेको आर्थिक मन्दी, विश्वव्यापी आर्थिक संकटको अवजस्थामा एउटै परियोजनाका लागि ३ अर्ब ४ अर्ब बजेट एकैपटक कठिन भएकाले चरणवद्ध रुपमा अघि बढाउने हो । अहिले भएको संरचना संरक्षण गर्ने, प्याराफिटहरु बनाउने र खेल्नलायक मैदान बनाउनका लागि महानगरले प्राविधिकसहितको टोली लागत स्टमेट गर्न फिल्डमा खटाइसकेको छ । जतिसक्दो छिटो स्टमेट गरेर हामी बागमती प्रदेश सरकार र महानगरको साझेदारीमा यही आर्थिक वर्षमा सुरुवात गर्ने जानकारी गराउन चाहन्छु ।

हामी जे बोल्छौं त्यो गर्छौं, जे गछौं त्यो भन्छौं । यो हिजोदेखि आजसम्म प्रमाणित भएको छ । रंगशालाको कुरा पनि प्रमाणित हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।