रोयल भुटान एयरलाइन्सले भर्यो पोखरा विमानस्थलमा चार्टर उडान

रोयल भुटान एयरलाइन्सले भर्यो पोखरा विमानस्थलमा चार्टर उडान

काठमाडौं । भुटानको रोयल भुटान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक चार्टर उडान भरेको छ । सो एयरलाइन्सले शनिबार चार्टर उडान भरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल श्रोतका अनुसार रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को एयरबस ३१९ ले चार्टर उडान भरेको हो ।  सो जहाज बिहान ६ बजेर ३९ मिनेट जाँदा पोखरा विमानस्थलमा अवतरण गरेको थियो भने बिहान ८ बजेर ५ मिनेटमा भुटानको पारोतर्फ उडेको थियो । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरले पोखरादेखि पारोमा हप्तामा ७ फ्लाइट गर्नेछ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हप्तामा ७ वटा फ्लाइट गर्ने गरी ड्रुक एयरले अनुमति पाएको जानकारी दिए । उनका अनुसार भुटानको ड्रुक एयर पोखरामा व्यावसायिक चार्टड फ्लाइट गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स बन्ने छ । यसअघि, चीनको सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टड फ्लाइट गरेको थियो । 

२२ अर्ब रुपैयाँको ऋण लगानीमा बनेको यो विमानस्थलमा व्यावसायिक उडान हुन नसकेको अवस्थामा भुटानबाट हुने व्यावसायिक चार्टड फ्लाइटले आस जगाएको छ । ड्रुक एयर भुटानको रोयल एयरलाइन्स अन्तर्गतको हवाई कम्पनी हो । यो एयर आजभन्दा ४२ वर्षअघि सन् १९८१ मा स्थापना भएको थियो । यस्तै, हाल यो एयरले १३ स्थानमा व्यावसायिक उडान भर्दै आइरहेको छ । सुरुमा पारो–पोखरा उडान भरे पनि बिस्तारै पोखरा–दिल्ली–पारो उडान भर्ने कम्पनीको योजना रहेको बताइन्छ ।