भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले उद्योगपतिको गला रेट्ने काम गरिरहेको छ : केपी ओली

भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले उद्योगपतिको गला रेट्ने काम गरिरहेको छ : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय उद्योग र उद्योगपतिको गला रेट्ने काम गरिरहेको आरोप लगाएका छन् । शनिबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

“अहिले भ्रष्टाचार नियन्त्रणको नाउँमा राष्ट्रिय उद्योग र राष्ट्रिय उद्योगपतिलाई, राष्ट्रिय पुँजीलाई गला थिच्ने, गला रेट्ने काम यो सरकारले गर्न खोजिरहेको छ,” उनले भने । सरकारले भ्रष्टारविरुद्धको अभियान भन्न नसुहाउने उनको टिप्पणी छ । “भ्रष्टाचारतिरको मेरो अभियान भन्न सुहाउँछ, भ्रष्टाचारविरुद्धको भन्ने छोड्देऊ,” ओलीले भने ।

उनले यती होल्डिङ्स, यती एयरलाइन्स भनेर कराएको भन्दै खोजी गर्न चुनौती दिए ।  गरिबले गरिखाएको सरकारले देख्न नसकेको उनको भनाइ छ ।

उनले यती होल्डिङ्स दरबारको पालादेखिकै खोजेर ल्याउनुपर्ने बताए । यतीलाई जग्गा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको समयमा दिइएको उनले सुनाए ।