पत्थरीको अप्रेसन गर्दा किड्नी झिकेपछि बिरामीको मृत्यु

पत्थरीको अप्रेसन गर्दा किड्नी झिकेपछि बिरामीको मृत्यु

काठमाडौं । धनगढीमा रहेको स्वास्तिक अस्पतालले पत्थरीको अप्रेसनको क्रममा मृगौला झिकेपछि बिरामीको मृत्यु भएको छ । उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुबै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार उनलाई बिहान अस्पताल भर्ना गरियो । उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो ।

अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको हो । मृतकका भतिजा राजकुमारले भने, ‘सबै परीक्षणपछि सवा १ बजे अप्र्रेसनको लागि अप्रेसन थेटर लगियो । सुरुमा अप्रेसन सफल भयो भनियो । हामीमा खुशीको सीमा थिएन । तर जब साँझ ७ बज्यो बिरामी बेहोस भए । उनको पेट पुरै फुल्यो । बुझ्दा किड्नीको नशा काटिएर रक्तश्राव भएछ । पछि पुनः डाक्टरले अप्रेसन गरे र किड्नी नै झिकिदिए । बिरामीको अवस्था झन बिग्रियो । त्यसपछि डाक्टरले अब सकिँदैन भनेर निस्किए ।’

अस्पतालका अध्यक्ष महेश जोशीले पनि अप्रेसन हुँदा अत्यधिक रक्तश्राव हुँदा त्यसलाई रोक्न किड्नी झिकिएको र त्यसले पनि नरोकिएपछि अवस्था बिग्रिएको स्वीकार गरे । अप्रेसन बिग्रिएकोबारे डाक्टरसँग स्पष्टीकरण सोधिने अस्पताल अध्यक्ष जोशीको भनाइ छ । डाक्टरको प्रष्टीकरण आएपछि सोही अनुसार अगाडि बढ्ने उनले बताए । अस्पतालले चौधरीलाई अझै मृत घोषणा भने गरेको छैन । बिरामीका आफन्तले डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएकोले सत्य तथ्य छानविन गरी डाक्टरलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।