कोशीकी उपसभामुख दनुवार अचानक बिरामी, बैठक संचालनको जिम्मा मन्सुरीलाई

कोशीकी उपसभामुख दनुवार अचानक बिरामी, बैठक संचालनको जिम्मा मन्सुरीलाई

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन प्रदेश सभा बैठक सञ्चालनको जिम्मेवारी पाएकी उपसभामुख सृजना दनुवार ‘अचानक बिरामी’ परेकी छिन् । विश्वासको मत लिने दिन नेकपा एमालेले उपसभामुख दनुवारलाई अनुपस्थित गराउने आशङ्काबी उपसभामुख बिरामी परेको भन्दै उपचारका लागि काठमाडौँ हिँडेकी हुन् ।

बैठक छलेर उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी छन् । कोशी प्रदेश सभा सचिवालयमा बैठकमा प्रस्तुत गरेको पत्रमा उनले भनेकी छन्, ‘मेरो स्वास्थ्यमा अचानक समस्या उत्पन्न भई उपचार गर्न प्रदेश बाहिर जानु पर्ने भएकोले मिति २०८०।०५।०४ गते र तत्काल सो भन्दा पछिका सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको छु ।’ 

दनुवारले आफ्नो अनुपस्थितिमा कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन २०७५) को नियम ११ को उपनियम (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्न यस अघि नै सभामुखबाट मनोनीत चार जना सदस्यमध्ये नेपाली कांग्रेसका इस्माइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी छन् ।