संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख तीन दलका शीर्ष नेताको बैठक

संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् । 

संसदको गतिरोध हटाउन सभामुख घिमिरले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले सोमबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन आह्वान गरेका हुन् ।

साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेको थियो । एमालेको अडानका कारण त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए ।

सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ ।