कोशी प्रदेशका सभामुख गौतमले राजीनामा दिने

कोशी प्रदेशका सभामुख गौतमले राजीनामा दिने

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्रीमा दाबी गर्न गठबन्धनलाई बहुमत पुर्याउन सभामुखले मंगलबार राजीनामा दिने भएका हुन् । सभामुख गौतमले प्रदेशसभा सचिवालयमा  राजीनामा बुझाउने तयारी गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई मुख्यमन्त्री दाबी गर्न दिएको समय मंगलबार अपराह्न ५ बजे सकिँदैछ । त्यसअघि नै बहुमतसहित मुख्यमन्त्री दाबी गर्न जाने नेताहरूले बताएका छन् । ‘आजै सभामुखको राजीनामा आउँछ,’ नेकपा माओवादी कोशी संसदीय दलका नेता ईन्द्र आङ्बोले भने, ‘आजै मुख्यमन्त्रीको दाबी गर्नेछौ ं।’

कांग्रेस संसदीय दल नेता उद्धव थापाले नै गठबन्धनभित्र मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् । सभामुख गौतमले राजीनामा दिएपछि गठबन्धनलाई सरकार बनाउन बहुमत पुग्छ । यसअघि सभामुखसहितको हस्ताक्षर गरेर नेपाली कांग्रेस संसदीय दल नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि सर्वोच्च अदालतले बिहीबार उनको नियुक्ति खारेज गरेको थियो । नेपाली कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्रै हुने भएपछि सभामुखलाई राजीनामा दिन लगाउन लागिएको हो ।