कांग्रेस बैठक : गुटबन्दी छताछुल्ल, राष्ट्रिय समस्याहरु छलफलको एजेण्डा नै बनेन

कांग्रेस बैठक : गुटबन्दी छताछुल्ल, राष्ट्रिय समस्याहरु छलफलको एजेण्डा नै बनेन
फाईल तस्वीर

काठमाडौं । लामो समयपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा देशका विविध पक्षहरु, राष्ट्रिय समस्याहरुबारे घनिभूतरुपमा छलफल हुन्छ कि भन्ने अपेक्षा थियो । तर कांग्रेस केन्द्रीय समिति बैठकको चौथो दिनसम्म आईपुग्दा त्यो छाँट देखिएको छैन । संस्थापन र संस्थापन ईत्तर पक्षका नेताहरु एकअर्काबीच आरोप प्रत्यारोप मै व्यस्त छन् । अझ भन्नुपर्दा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको बचाउघटाउ गर्नु नै बैठकको मुख्य एजेण्डा बनेको देखिएको छ । 

यतिबेला देशको अर्थतन्त्र जोखिममा छ । रोजगारीको अवसर नै नपाएर दैनिक हजारौं युवाहरु विदेशिन बाध्य छन् । भष्ट्रचारको गतिविधि पनि उत्तिकै छ । ठूला भष्ट्रचार प्रकरणको अनुसन्धानमा ठूला दल र सत्ताशक्तिमा रहेकै व्यत्तिहरु संलग्न रहेको तथ्य पनि सतहमा आईरहेको छ । शिक्षा,स्वास्थ्य,रोजगार,महँगी लगायत विभिन्न समस्याबाट नागरिक गुर्जिनु परेको छ । तर संसदको सबैभन्दा ठूलो दल, प्रजातान्त्रिक दल  नेपाली कांग्रेसले आफ्ना नेताहरु भेला त पार्यो तर देशको सम्रग विषयमा छलफल नै गर्न सकेन । सरकारलाई सुझाउन सक्ने यो पार्टीको बैठक पार्टी भित्र कै नेताहरुको चाकडी र राजनीतिक स्वार्थमा नै केन्द्रित भयो । 

प्रत्यक्ष प्रसारणले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गुटबन्दी छताछुल्ल देखिएको छ । मंगलबार पेस भएका प्रस्ताव र प्रतिवेदनमाथि बुधबार धारणा राख्ने क्रममा नेताहरूले आफ्नो गुटको रक्षा र अर्को पक्षको आलोचना गरेका छन् 
केही नेताहरुको भनाई जसले गुटबन्दी मै बैठक केन्द्र्रित रहेको सिद्ध गर्छ ।  

१.सुरेन्द्रराज पाण्डे (केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री)
‘विधानको अभ्यास गर्न कसैले रोक्न सक्दैन । सभापतिले पनि सक्नुहुन्न् । कसैले पनि सक्दैन । त्यो कुन बेला कुन समयमा प्रयोग गर्ने हो । त्यो गरौं, त्यसमा आपत्ति छैन । पाइन्छ, गर्ने पनि हो सकिन्छ भने । गर्ने कुरालाई भनेर मात्रै अतिरञ्जित नगरौं । पार्टीको नेगेटिभ भ्रम फैलिने गरि अतिरञ्जित नगरौं । शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ, सुरेन्द्र पाण्डे पनि डुब्छ । सबै एउटै डुंगामा छौं । यो डुंगालाई पार लाउन कठिन छ ।’ 

२.नैनसिंह महर (केन्द्रीय सदस्य)
‘कांग्रेस केन्द्रीय समिति, संसदीय दल र सरकार–प्रदेश समिति तथा स्थानीय तहबीच ठूलो खाडल देखियो । संसद्ले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ, यो अवस्थाको अन्त्य हुनुपर्छ’

३.कृष्णचन्द्र नेपाली पोखरेल (केन्द्रिय सदस्य)
‘बिपी पनि नचिनेको पुस्तालाई के गरेर चित्त बुझाउने हो ? महामन्त्रीको प्रतिवेदन आएको अभियानमा त्यो पुस्तालाई छुने कार्यक्रम पनि आओस्, कांग्रेसबाटै खत्तम भो, मुलुक डुब्न लाग्यो भन्दै सामाजिक सञ्जालमा प्रचार भइरहेको छ । यो ठीक होइन ।’ 

४.रामहरि खतिवडा (केन्द्रिय सदस्य)
‘दुईजना महामन्त्रीलाई विनम्रतापूर्वक आग्रह छ– कांग्रेस बलियो बनाउन एकढिक्का बनाएर सही रोडम्याममा लैजाने उद्देश्यका साथ तपाईंहरू हामी सबैको नेतृत्व लिने गरी अगाडि बढ्नुहोला । तपाईंहरूले दायरा फराकिलो बनाउनुभएन भने जसरी तपाईंहरू अरू कसैको विकल्प खोज्छौँ भन्दै हुनुहुन्छ, तपाईंहरूको विकल्प पनि हामीहरूले खोज्ने दिन नआओस् ।’

५.हरिशरण नेपाली (केन्द्रिय सदस्य)
‘हामी वाकयुद्धमा रमायौँ । एकाइसम्म गुटको बीजारोपण गरेका छौँ । तल्लो तहमा पनि एउटा गुटले अर्को गुटलाई बोलाउँँदैनन्, यसले डरलाग्दो अवस्था निम्तिएको छ जुन कांग्रेसको भविष्यका लागि चिन्ताको विषय हो, मैले दश महिनादेखि मलाई काम दिनुस्, म काम गर्न चाहन्छु भनेको छु । यो समयमा कांग्रेस जनमानसमा इतिहासकै सबैभन्दा बढी आलोचित बनेको छ ।’

६.कृष्ण यादव (सभापति, मधेस प्रदेश) 
‘पार्टीको प्रदेश संरचना किन गठन गरियो ? सातवटा प्रदेशमा संरचना किन बनाइयो ? यदि प्रदेशलाई कुनै जिम्मेवारी दिनु छैन र जिम्मेवारीविहीन बनाउनु छ भने खारेज गर्दा हुन्छ । हामी जिल्लैमा बस्न तयार छौँ, जिल्लाकै संगठन गर्छौँ । जे कार्यक्रम भएको छ सीधै जिल्लालाई दिइन्छ,  प्रदेशलाई बाइपास गरिएको छ ।’ 

यसरी देशको सबैभन्दा ठूलो राजनीतिक दल नै गुटबन्दीमा केन्द्रित हुदाँ जनचासो छाँयामा परेको छ । कांग्रेस आफूलाई नसुधारी राजनीतिक स्वार्थमा मात्र लिप्त हुने हो भने आगामी निर्वाचनमा मतदाताले अवस्य मूल्यांकन गर्नेछन् ।