५ हजार धरौतीमा छुटे बल्छी धुर्वे र राजु मास्टर

५ हजार धरौतीमा छुटे बल्छी धुर्वे र राजु मास्टर

काठमाडौं । अनलाईन सट्टेबाजी गराउने वेभसाईट वानएक्स बेटको टेलिचलचित्र मार्फत् प्रचारप्रसार गरेको आरोपमा प्रकाउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारहरु ५ हजार धरौतीमा रिहा भएका छन् । जिल्ला अदालतमा भएको थुनछेक बहसले कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै कलाकारहरुलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ । सो अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने  व्यवस्था छ । 

सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् । जिल्ला सरकारी वकिल कार्यालयले दिनेश खड्का र अनिता धितालले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ बमोजिम कसुर गरेको भन्दै ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गरेको थियो ।