जबाफ चित्तबुझ्दो नभएको भन्दै एमाले नेताले फेरि मागे प्रधानमन्त्रीको राजीनामा

जबाफ चित्तबुझ्दो नभएको भन्दै एमाले नेताले फेरि मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति गलत थियो भनेर स्वीकारेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका सांसद पन्तले प्रधानमन्त्रीले प्रधानमन्त्रीका हैसियतले सो अभिव्यक्ति दिनु आफ्नो कमजोरी भयो भनिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । गल्ती गर्ने र स्वीकार गरिसकेपछि पुनः प्रधानमन्त्री भइरहन नैतिकताले नदिने भन्दै उनले प्रधानमन्त्रीले संसद्मा दिएको उत्तर पनि चित्तबुझ्दो नरहेको बताए ।

“राजनीतिक रूपमा दिएको उत्तर चित्तबुझ्दो थिएन । हामीले मागेको राजीनामा पनि नैतिकताका आधारमा नै हो । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुरामा म कन्भिन्स छु । म अहिले पनि कायम छु,” उनले भने, “बहुमत छ, प्रतिपक्षले माग्दैमा राजीनामा दिने हो भने गलत नजीर बस्छ भन्नुभयो । प्रतिपक्षले बिनाआधार राजीनामा माग्दैन । उहाँले संसद्मा उभिएर प्रधानमन्त्रीको रूपमा बोल्नु नहुने कुरा बोलेँ भन्ने अनि कसरी प्रधानमन्त्री छोड्दिन भन्न मिल्छ ?”

पन्तले गल्ती स्वीकारेपछि नैतिक रूपमा प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने बताए । यद्यपि एमालेले भने यो विषयलाई लिएर अब सदन अवरोध भने नगर्ने भएको छ ।