मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीहरुको माग

मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीहरुको माग

बुटवल । नेपाल आयल निगमनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता गर्न नेपाल ट्रक यातायात व्यवसायी महासंघले माग गरेको छ । 

मंगलबार लुम्बिनी प्रदेश  र पश्‍चिमाञ्‍चल यातायात व्यवसायी समितिले संयुक्त विज्ञप्ती जारी गर्दै वृद्धि गरिएको मूल्य फिर्ता गर्न माग गरेको हो । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता नलिए ढुवानी रोकेर साधनहरुहरुलाई  ग्यारेजमा थन्काउने चेतावनी समेत दिएका छन् । उनीहरुले मूल्यवृद्धिले नेपाल ट्रक यातायात व्यवसायी मर्कामा परेको उल्लेख गरेका छन । 

नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डे र पश्‍चिमाञ्‍चल यातायात व्यवसायी समितिका महासचिव जितबहादुर भाटले संयुक्त विज्ञप्ती जारी गर्दै मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन ।

वि.सं. २०७८ वैशाख ५ मा डिजलको मूल्य १०४ रुपैयाँ हुँदा तय भएको ढुवानी मूल्ययमा हाल ११९ रुपैयाँ हुँदा समेत ढुवानी गर्नुपरेको भन्दै पटक पटकको मूल्यवृद्धिले समस्या भएको विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोलियम पदार्थमा मूल्य हेरफेर हुँदासमेत ढुवानी भाडामा मूल्य समायोजन हुन नसक्नु दुःखको कुरा भएको पनि विज्ञप्तिमा उल्लेख छ ।