४ सहकर्मी मारेका प्रहरीको बयान-'मेरी पत्नीबारे नराम्रो बोलेपछि सिध्याइदिएँ'

४ सहकर्मी मारेका प्रहरीको बयान-'मेरी पत्नीबारे नराम्रो बोलेपछि सिध्याइदिएँ'

छत्तीसगढ । भारतको छत्तीसगढ राज्यमा कार्यालयभित्रै गोली हानेर आफ्नै चार जना सहकर्मी (प्रहरी) को हत्या गरेका प्रहरीको बयान सार्वजनिक भएको छ। छत्तीसगढमा पर्ने सुकमा जिल्लाको मराइगुडा पुलिस स्टेसनअन्तर्गत लिंगमपल्लीमा सीआरपीएफको ५०औं बटालियनको आधार शिविरमा कार्यरत प्रहरी जवान रितेश रञ्जनले सोमबार बिहान ३ बजेतिर आफ्नै सहकर्मीलाई अन्धाधुन्ध गोली हानेका थिए। त्यस क्रममा चार प्रहरीको मृत्यु भएको थियो।  

यस सम्बन्धमा भारतीय पत्रिका दैनिक भास्करले गोली चलाउने तिनै प्रहरी जवान रितेश रञ्जनले आफ्नो अपराध स्वीकार गरेको भिडिओ प्राप्त गरेको दाबी गरेको छ।

दैनिक भास्करका अनुसार भिडिओमा प्रहरी जवान रितेशले अधिकृतको प्रश्नको जवाफ दिइरहेका छन्, ‘हो, सबैलाई मैले नै मारेको हुँ। मेरी श्रीमतीबारे नराम्रो कमेन्ट गर्थे। कच्ची काली भन्थे। साथै अर्का एक अधिकृतको नाम लिएर घटना भएको दिन बिहान ५ बजे मलाई जंगलमा मार्ने योजना बनाएको बताइरहेका थिए। त्यसैले मैले सबैलाई मारेँ।’