काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा आजको बैठकमा अवरोध कायमै गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका हुन् । सभामुख सापकोटाले एमालेलाई बैठकको अवरोध हटाउन अनुरोध गरेपनि एमालेका सांसदहरुले सभामुख सापकोटाको राजीनामा माग गर्दै नारावाजी गरेका थिए ।
एमालेको नारावाजीकै बीच बसेको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
त्यस्तै सभामुख सापकोटाले अनुपस्थितिको सूचना स्वीकृतिका लागि वाचन गरेका थिए । सूचना अनुसार प्रतिनिधि सभाको लगातारकाे १३ वटा बैठकमा अनुपस्थित भएका सांसदहरुमा झलनाथ खनाल, प्रदीप गिरी र कर्मा घले रहेका छन् । बैठकले उनीहरूको बिदा स्वीकृत गरेको हो ।
उनीहरु स्वास्थ्योपचारका कारण बैठकमा सहभागी नभएका हुन् ।
लगत्तै अर्को बैठक कात्तिक २९ गते बस्ने गरी समाभुख सापकोटाले बिहीबारको बैठक स्थगित भएको घोषणा गरेका छन् ।