अष्टलक्ष्मी शाक्यको पदको छिनोफानो आज, राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी

अष्टलक्ष्मी शाक्यको पदको छिनोफानो आज, राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी

काठमाडौं । बाग्मती प्रदेशसभाको आज बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन्। सभामा विश्वासको मतका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। विश्वासको मतसम्बन्धी मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ। 

गत असोज २४  गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। यसअघि कात्तिक ४ गतेको बैठकमा दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

भदौ दुईमा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छिन्।  बागमती प्रदेश सभामा एक सय नौ सदस्य छन्। मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्छ। हाल सत्तारूढ नेकपा एमालेसँग ४३ जना सांसदमात्र छन्। उनलाई १२ जना अन्य दलका सांसदले समर्थन गरे मात्रै विश्वास पाउने सम्भावना रहन्छ। 

सत्तारूढ गठबन्धनले यसअघि नै बागमतीमा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन्। गठबन्धनले बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरिसकेका छन्। सो पार्टीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारिएको छ । 

बागमतीमा नेपाली कांग्रेसका २२, नेकपा माओवादी केन्द्रका २३, नेकपा ९एकीकृत समाजवादी० को १३ सांसद छन्। त्यसैगरी, विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीका २, राप्रपा २ र स्वतन्त्र एक सांसद पनि छन्।