मधेसीलाई संविधानले पनि न्याय गरेन, अब अन्दोलन चर्काउनुपर्छ  ः ठाकुर

मधेसीलाई संविधानले पनि न्याय गरेन, अब अन्दोलन चर्काउनुपर्छ  ः ठाकुर

सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधानले समेत मधेसीलाई न्याय नगरेको भन्दै अब आफ्नै लागि आफैले लड्नुपर्ने बताएका छन् । 

सर्लाहीस्थित बरहथवामा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै आफू जहिलै सन्तुलित संविधानको माग गर्दै आएको भएपनि संविधान मधेसको पक्षमा नरहेको टिप्पणी गरे ।

संविधानले मधेसीलाई समेट्न नसकेको भन्दै शिक्षा, स्वास्थ्य र विकासमा मधेस निकै पछाडी परेको उल्लेख गरे । नेता ठाकुरले मधेसी जनताको समस्या ज्यूका त्यू, सहकार्य गरिएको पार्टीले पनि ती विषयमा नबोलेको भन्दै नागरिकताको सवालमा समेत सरकारले मधेसीलाई वेवास्ता गरेको आरोप लगाए । 

मधेसी जनताको भोट मधेसका लागि नै खर्चिनु पर्ने भन्दै आगामी चुनावमा कुनै पार्टीलाई पनि मधेसीको भोट नआउने भन्दै मधेसीको मधेकै पक्षमा दिन आग्रह समेत गरे । 

नेता ठाकुरले भने, ‘हामी हनुमान हौं, हामीलाई हाम्रो शक्तिको महसुस नै छैन ।’ उनले थपे, ‘अब हाम्रो भोट हाम्रै लागि प्रयोग हुनुपर्छ ।’

कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसी जनतालाई नयाँ आन्दोलनको लागि तयार रहन पनि अनुरोध गरे । ठूला दललाई समर्थन गरेर मधेसीको समस्या हल नहुने भन्दै अब अन्तिम संघर्षको लागि तयार हुनुको विकल्प नरहेको समेत दावी गरे ।

उनले मधेसीसँगै आदिवासी, दलित, जनजाति, थारूलाई आफ्नो हक अधिकारको लागि आन्दोलनका लागि तयार रहन आग्रह गरे ।